नेभिगेशन
राजनीति

देउवाले भने- हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौँ, कसैले रहर गर्दैमा गणतन्त्र जाँदैन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन् ।

जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौँ । जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने, ‘गणतन्त्र हट्ने वाला छैन । कसैले आशा नगरे हुन्छ ।’

पूर्वप्रधानमन्त्री देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको भन्दै यस्तो व्यवस्था हट्न नसक्ने दाबी गरे ।

बीपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोट गर्दै आन्दोलन अघि बढाएको बताएका देउवाले सो आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था ल्याएको बताए ।

‘बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथी भाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौँ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ । कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति