Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुलमानलाई बर्खास्त गरेपछि ऊर्जामन्त्रीको सुरक्षामा थपियो प्रहरी

बिहीबार, चैत १४, २०८१

काठमाडौ- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई यही सोमबार बर्खास्त गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सुरक्षामा कडा बनाइएको छ ।

samridhi jewllers

खड्काको सुरक्षाका लागि सरकारले थप सुरक्षाकर्मी खटाएको हो । घिसिङलाई हटाउने सरकारी निर्णयविरुद्ध नागरिकस्तरमा सडकमा आन्दोलन बढेपछि सम्भावित जोखिम हुन नदिन खड्काका लागि सुरक्षा बढाइएको हो ।

मन्त्री खड्काका लागि अगुवा गाडीसहित थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । पछिल्लो समय सुरक्षाका कारण खड्का सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित गर्न थालिएको छ।

बिहीबार मात्रै मन्त्री खड्का नयाँ बानेश्वरस्थित संसद् भवनमा कडा सुरक्षा घेरामा थिए । त्यसक्रममा उनलाई सञ्चारकर्मीले सोधे, ‘कुलमानलाई हटाउने निर्णयविरुद्ध जनताको आक्रोश देख्नुभएको छ ?,’ उनले जवाफमा भने, ‘त्यस्तो लाग्दैन, उहाँ (कुलमान)भन्दा राम्रो मान्छे राख्या छौँ ।’


खड्काको सिफारिसमा कुलमानलाई हटाएर पूर्वप्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले प्राधिकरणमा ल्याएको छ।

सरकारले कुलमानलाई हटाउने निर्णय गरेपछि चर्को विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री खड्काको पुत्लासमेत जलाइएको छ।

प्राधिकरणको केन्द्रीय कार्यालय भवन, रत्नपार्क र माइतीघरमा सरकारविरुद्ध प्रदर्शन भएको छ । उता प्रतिपक्षीले संघीय संसद्का दुवै सदनमा अवरोध जारी राखेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्