अमेरिकाले गरिब देशहरूमा बाल खोपको कोष बन्द गर्ने
काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गरिब देशहरूमा बालबालिकाका लागि खोप किन्न मद्दत गर्ने संस्था ‘गाभी’ का लागि अमेरिकी कोष अन्त्य गर्ने र औलोविरुद्ध लड्ने प्रयासहरूलाई घटाउने योजना बनाएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले तयार पारेको दस्तावेजमा विभिन्न कटौतीहरूका बारेमा खुलासा गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।
सन् २००० मा ‘गाभी’ को स्थापना भएदेखि अमेरिकाले ७८ देशमा एक अर्बभन्दा धेरै बालबालिकालाई खोप लगाउन सहयोग गरेको छ । यसले भविष्यमा हुने एक करोड ८० लाखभन्दा बढी मृत्युलाई रोकेको छ ।
ट्रम्प प्रशासनले एचआईभी र क्षयरोगको उपचार गर्ने औषधिहरूका लागि भुक्तानी गर्ने, गृहयुद्ध र प्राकृतिक प्रकोपहरू भइरहेका राष्ट्रहरूलाई खाद्य सहायता प्रदान गर्ने केही अनुदानहरूलाई भने निरन्तरता दिने खबरमा उल्लेख छ ।
ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिकाले विदेशी सहायतालाई नाटकीय रूपमा घटाएको छ । नयाँ प्रशासनको ‘अमेरिका फर्स्ट’ नीतिसँग मिल्दोजुल्दो बनाउन झन्डै ८० प्रतिशत सम्झौताहरू अचानक कटौती गरिएको छ जसले गर्दा विश्वव्यापी रूपमा अराजकता, भ्रम र पीडा बढेको खबरमा उल्लेख छ ।