Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज हुने प्रदर्शनलाई लिएर कस्तो छ सुरक्षा रणनीति ?

बिहीबार, चैत १४, २०८१

काठमाडौं- आज  अर्थात् चैत्र १५ गते राजावादी र गणतन्त्रवादी दुवैले भव्य प्रदर्शन गर्ने तयारी छ ।  समाजवादी मोर्चाले गणतन्त्रको रक्षा गर्नका लागि हजारौं मानिस सडकमा उत्रिने दाबी गरेको छ । समाजवादी मोर्चाले काठमाडौंका विभिन्न क्षेत्रबाट जुलुस निकाल्ने भनेको छ । 

samridhi jewllers

जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, सुनधारा हुँदै भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर कोणसभामा परिणत हुने भनिएको छ । 

समाजवादी मोर्चाले गणतन्त्रको रक्षाका लागि आवाज उठाउन सडक प्रदर्शन नै गर्ने भएपनि कांग्रेसले केही मौनता देखाइरहेको भन्न थालिएको छ । तर, कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले भने भने गणतन्त्रविरुद्ध षडयन्त्र गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन् । 

सरकारले जस्तै गणतन्त्रको पक्षमा उठेका आवाजमा एमाले पनि आक्रामक देखिन्छ । सरकार निर्माणको समयक्रमदेखि सत्ता र प्रतिपक्षीबीचको विवाद देखिएपनि गणतन्त्रको पक्षमा भने एकमतजस्तो स्थिति छ । 

दुर्गा प्रसाईँको नेतृत्वमा रहेको समूहले आयोजना गरेको राजसंस्था पक्षधर आन्दोलनमा राप्रपा र राप्रपा नेपालले पनि समर्थन गरेका छन् । 

राजावादी शक्तिले गर्ने प्रदर्शनको केन्द्र काठमाडौं नै बनाएको छ । कोटेश्वर तिनकुने क्षेत्रमा मुख्य केन्द्र बनाएर प्रदर्शनको तयारी उनीहरुको  छ । 

दुवै पक्षको काठमाडौं केन्द्रित प्रदर्शन सम्हाल्न सरकारलाई केही असहज देखिन्छ । त्यसैले पनि चैत्र १५ गतेको प्रदर्शनलाई सरकारले कसरी सुरक्षा व्यवस्था मिलाउँछ भन्ने प्रश्न समेत पेचिलो देखिन्छ ।

त्यसमाथि गणतन्त्रवादी शक्तिहरूले पनि अनेक उक्साहट पैदा गर्ने अनि भीडलाई आक्रोशमय बनाउने जस्ता कदम चालिरहेको देखिन्छ । मुठभेटकै अवस्था आउन सक्ने सम्भावना पनि  बनेको छ । 

यी दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि सुरक्षा चुनौतीबारे छलफल गर्न १० चैतमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत डाकिएको थियो ।

उक्त बैठकले १५ चैतमा दुई पक्षको प्रदर्शनको सुरक्षा चुनौती विश्लेषण गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको थियो । सोही अनुसार सुरक्षा रणनीति बनाइसकेको अधिकारीहरूले बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार २५ सय प्रहरी भोलिका लागि खटाइने छ । 

सुरक्षालाई मध्यनजर गर्दै सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरूको पहिचान गर्न सादा पोसाकका प्रहरीले सहयोग गर्ने बताइएको छ । 

यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ  ।  ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुने बताइएको छ । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरी मात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्