नेभिगेशन
राजनीति

काठमाडौं महानगरपालिकाको निधोपछि आन्दोलनकारी राजावादी–मोर्चाले लियो यस्तो निर्णय

काठमाडौं– शक्ति प्रदर्शनको होडमा रहेका समाजवादी मोर्चा आवद्ध दलहरू र राजसंस्था पक्षधर शक्तिले एसईई परिक्षार्थीबारे ध्यान नदिएपछि काठमाडौं महानगरपालिकाले लिएको निर्णयले उनीहरू ब्याक सर्न बाध्य भएका छन्।

शक्ति प्रदर्शनका कारण परिक्षामा सहभागी भएर गन्तव्यतिर जाने परिक्षार्थी समस्यामा पर्ने भएपछि महानगरले गन्तब्यसम्म लगिदिने कार्यसूची तय गरेको थियो। 

काठमाडौँ महानगरले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध गराइदिने भएको थियो। 

महानगरले घर फर्किन समस्या भएमा महानगर प्रहरी बललाई सम्पर्क गर्न भन्दै घरसम्म पुर्याइदिने जानकारी दिएको थियो। 

परीक्षामा खटिने केन्द्राध्यक्ष र शिक्षकहरुलाई विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरिदिन र आवश्यक परे आफैँ पनि सुविधा लिन समेत महानगरले अनुरोध गरेको छ । 

महानगर प्रहरी बलका निम्न नम्बरमा सम्पर्क गर्न सकिने सूचना जारी भएको थियो। 

बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६ मा सम्पर्क गर्न सकिने व्यवस्था महानगरले गरेको थियो। 

यसैगरी, रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, ९८५१०९३१७६, नयाँ बसपार्कतर्फका लागि, नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, ९८५१२३३६३३, टेकुतर्फका लागि, नगर प्रहरी निरीक्षक, प्रकाश पण्डित, ९८५१०५६३४६ सम्पर्क गर्न सकिने महानगरले सुविधा दिएको थियो। 

यस्तै, महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९मा पनि सम्पर्क गर्न सकिने जनाएको थियो। 

महानगरको यस्तो निधोपछि राजसंस्थावादी र समाजवादी मोर्चाले कार्यक्रम धकेलेका छन्।

यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको हो।

एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी सार्वजनिक भयो। 

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ।

समितिले तिनकुनेमा सभा राखेको छ। समितिका संयोजक नवराज सुवेदीले आइतबार पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि हुने प्रदर्शनको मुख्य उद्देश्य संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण भएको बताएका थिए।

त्यसका लागि उनले नेपाल ऋषिको उपाधि प्राप्त डा. जगमान गुरुङको नेतृत्वमा सल्लाहकार समिति र राप्रपा सांसद् धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति घोषणा गरेका थिए। त्यसमा देशभरबाट १ हजार १११ जना सदस्इ रहेको भनिएको छ। समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको भनिएको छ।

शुक्रबारै गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले समेत शक्ति प्रदर्शन गर्दैछ। उनीहरुका लागि भृकुटीमण्डपमा सभा गर्ने स्थान तोकिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति