नेभिगेशन
राजनीति

राजनीतिमा हाईकु स्टाइलः राजावादीको शक्ति, समाजवादी मोर्चाको प्रतिरोध र कुलमानको पेशी

काठमाडौं– जापानिज साहित्यमा प्रख्यात छ– हाइकु।

नेपालको शुक्रबारको राजनीति यहि हाइकु शैलीमा अघि बढेको छ। 

प्रतिनिधि सभाको बैठकका निम्ति सभामुख देवराज घिमिरे मुख्य दलका प्रमुख सचेतकसँग छलफलका क्रममा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रश्नको जवाफ दिने विषयबारे सभामुखसँगको बैठकमा छलफल भएको छ।

उता, राजसंस्थावादी शक्ति प्रदर्शनको तयारीमा छन्। मध्य दिनदेखि उपत्यकाको तीनकुने क्षेत्रमा राजसंस्था, हिन्दूत्ववादीको शक्ति प्रदर्शन हुने निश्चित छ। 

उक्त प्रदर्शनमा सहभागी हुनका लागि कमान्डर बनाइएका व्यावसायी दुर्गा प्रसाईंदेखि शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतसम्मले आह्वान गरेका छन्। 

निर्मल निवासमा प्रवेश पाएपछि प्रसाईं नवराज सुवेदी नेतृत्वको आन्दोलन समितिले तय गरेका कमान्डर हुन्।

यता, माओवादीका तीन घटक र माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको संयुक्त शक्ति प्रदर्शन तथा सरकारविरोधी प्रतिरोध प्रदर्शनी मार्गमा छ।

उता, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदच्युत गरिएका कुलमान घिसिङको रिटमा सर्वोच्चको अदालतमा पेशी पनि चढेको छ।

रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ ।

यस्तै अघिल्लो रिक्त कार्यकालको पारिश्रमिकसहित आर्थिक सेवा सुविधा माग गर्दै नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी पनि मुसलमानकै इजलासमा परेको छ।

घिसिङको पेशी इजलासको दोस्रो र शाक्यको पाँचौँ नम्बरमा रहेको छ। घिसिङ र शाक्य दुवै बुधबार साँझ सर्वोच्च पुगेका थिए।

उनीहरूको रिट निवेदन दर्ता भएको थियो। कुलमानले रिटमा आफूलाई हटाउने निर्णय बद्नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन्।

उनले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश माग गरेका छन्।

यसै साताको सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो। 

राजनीति र प्रशासनयन्त्रमा देखिएको यस्तो छारस्ट गतिविधि राजनीतिमा हाइकु जस्तो देखिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति