नेभिगेशन
विचार
टिप्पणी

प्रचण्डकृत ‘रावणराज’ले खोजेको बाटो आखिर त्यहि होला नि!

१२ बुँदे समझदारीका शूर्पणखा मानिने ओलीहरू हालीमुहाली हुँदा गणतन्त्रको नाक यसै काटिएको छ, त्यसै ताछिएको छ

काठमाडौं– शीर्षक देखेर माओवादीका हिंस्रक कार्यकर्ता चार बित्ता माथि उफ्रिनेछन्। जरुरी छैन। यो बिम्ब सकारात्मक बाटोमा नै कोर्ने कोशिश गरेको छ, टिप्पणीकारले।

भित्ते राष्ट्रपतिदेखि सुरु भएको प्रचण्डको सत्ताको यात्रा सदनमा निर्वाचित पहिलो गणतान्त्रिक प्रधानमन्त्रीदेखि तेस्रो कार्यकालसम्म रह्यो। 

यो कार्यकालमा प्रचण्डले सत्ता गठबन्धनका विभिन्न जोड घटाउमा आफूलाई छिमलीरहँदा गणतन्त्रको ब्यूलाई भने तुहुने, सुक्ने र नउम्रिनेगरी सिध्याउने कोशिश गरेका थिए, त्यसको उपज हो अहिले राजावादीको प्रतिरोध जुलुस निकाल्न ‘ताई न तुई’का समाजवादी मोर्चाका नाममा प्रदर्शनी मार्गमा देखाइएको नाट्यलिला। 

प्रचण्डले बडो ध्वाँस दिएर भन्ने गरेका थिए,‘शान्ति सम्झौता गर्दा केपी ओलीहरू कुन कुर्सीमा थिए?’

अहिले प्रश्न प्रचण्डतिर फर्किन्छ,‘माओवादीहरूको हविगत कुन हालतमा छ र प्रचण्डहरूको कुर्सी कतातिर फर्किएका छन्?’ अगाडिको लहरमा बसेका माधवकुमार नेपालहरूको साइज भनेको सुगर र लुतो लागेको रोगीभन्दा फरक छैन, पातलो।

खुलामञ्चको सभाबाट प्रचण्ड भन्ने गर्दथे,‘यो देशलाई कि जंगबहादुर कि बुद्ध चाहिएको छ।’

बुद्धत्व प्राप्तिको मार्ग त भएन अब नयाँ स्वरुपमा उदाइरहेका जंगबहादुरहरूसँग किन रिसाउने? प्रचण्डको भनाईमा सहमति छ– यो देशमा जंगबहादुर चाहिएको छ। 

किन? 

प्रचण्डकृत रावणराजको अन्त्य गर्न। गणतन्त्रलाई उन्नत लोकतान्त्रिक पद्धतीको साटो निजीतन्त्र र अस्रेल्लतन्त्र बनाएपछि भोग्ने यस्तै हो। 

जनताले कहिल्यै पनि मृत्यु नहुने, सन्जिबनीभन्दा पनि भयानक बरदान नदिएका होइनन्। जनताले गणतन्त्र नामको अमृत नाभीमा राखिदिए। तर, प्रचण्डकृत रावणराजमा नाभीका सत्यहरूमा दिग्बिजयी हुने बाटोमा होइन, पराजयको मार्गमा हिँड्ने कोशिश भयो। जसको फलतः राजसंस्था र हिन्दूत्वको सवाल, सवाल मात्र बनेको छैन, यो अभियान हुँदै महाअभियान र त्यसपछि दुर्गा प्रसाईंको कमान्डको आन्दोलन समिति बन्यो। जहाँ नवराज सुवेदीहरू ८६ बर्षको उमेरमा पनि देशलाई निकाश दिन खोजिरहेका छन्।

राम ठोरीमा छन् कि अयोध्यायमा भन्ने प्रश्नको उत्तर अब छिमेकले केपी शर्मा ओलीलाई दिन खोजेको अनुभूति हुन्छ। 

आवेग, उत्तेजना र उद्वेलित मानसिकताको उपजका रुपमा तेस्रो तर घुमेको चर्खाको बाटो समातिएको छ। यो बाटो यत्तिकै समातिएको होइन, यसभित्र अनेक तथ्य गर्भमा लुकेका छन्। प्रसव पीडाको घडी छ– जन्मन्छ।

प्रतिनिधि सभा विघटनका दुई परिघटनापछि टाउको जोड्ने र त्यसअघि ‘भारतले पनि सुनोस्, हामीलाई साथ दिनुपर्छ’ भन्ने प्रचण्डको गर्जन भारतले सुनिदियो त? बरु, जो बोलेन उसको सुन्ने तरखरमा लागेको भन्ने प्रतीत हुन्न?

शूर्पणखाको जन्म त प्रचण्डले गरेका हुन्।

शुर्पणखा हिन्दू धर्मको ग्रन्थ रामायणकी एक पात्र तथा लंकाका राजा रावणकी बहिनी हुन्। 

वाल्मिकीको रामायण कथा अनुसार शूर्पणखा र कैकेयी नभएको भए उक्त कथा नै नबन्ने देखिन्छ। यसकारण पनि शूर्पणखालाई रामायणकी एक प्रमूख पात्रको रूपमा लिन सकिन्छ। 

दुर्गा प्रसाईंको निजी निवासमा पुगेर चरेसका थालमा मार्सी चामलको भात खाएर बाम एकता हुने रहेछ त? जबकि, उनैलाई बोकेर प्रचण्ड कति समयसम्म हिँडे? 

छर्रा बोकेर मल्हम पट्टी नपाएका माओवादी छापामारको शरिरको अबमूल्यन गरी नवसामन्त र नवधनाड्य उत्पादनमा प्रचण्ड नलागेको भए, जनताका गुनासामा रुमल्लिएको भए यस्तो अवस्था आउने थियो त?

समय घर्किएको छैन। यहाँ प्रचण्डको कोही इन्द्रजित जन्मिनेवाला छैन। 

मोहन वैद्य किरणले भने जस्तो राजावादी शक्ति पनि सहमतिमा आउने प्रकारले एउटा विशाल गोलमेच र सबैले भनेअनुसार, मिल्न सक्ने विन्दुको खोजी भएन भने नेपालको नयाँ रामायणको नयाँ कथा लेखिनेछ। त्यो, ठोरीका रामले होइन, जनकपुरमा जनकले पनि होइन, कुनै तेस्रो धारले लेख्न सक्नेछ। हेक्का होस्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विचार