नेभिगेशन
राजनीति

संसद बैठक अझै सुरु हुन सकेन, प्रदर्शनले सांसदलाई सदन पुग्नै सकस

काठमाडौं - शुक्रबारको प्रदर्शनले सांसदहरूलाई संसद् भवन पुग्न अप्ठ्यारो भएको छ ।

संघीय संसद्‍को दुवै सभाको बैठक बस्दैछ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे राखिएको छ । प्रदर्शनका कारण काठमाडौंको सवारी प्रभावित भएको छ । यसले सांसदहरू पनि प्रभावित भएका हुन् ।

‘विरोध नगर्न भन्न भएन । तर, गाह्रो, गाह्रो गरी संसद् भवन आइपुगियो,’ एक प्रतिनिधिसभा सदस्यले भने, ‘राष्ट्रिय सभाको माननीयहरूका लागि झन् गाह्रो देखिन्छ । बिहानै आउने कुरा भएन । दिउँसो आउन समस्या छ ।’

गाह्रो गरी संसद् भवन आइपुगेको भएता पनि प्रतिनिधिसभाको बैठक समयमा सुरु नभएको उनले असन्तुष्टि जनाए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

प्रधानमन्त्रीको जवाफ नपाएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

आजै बिहान सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, निकास निस्किएको छैन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा आज विधेयकहरू अगाडि बढाउने कार्यसूची छ ।

राष्ट्रिय सभामा विभिन्न ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक अगाडि बढाउने कार्यसूची छ । तर, सभाको कामकारबाही अगाडि बढ्ने वातावरण बन्न सकिरहेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति