नेभिगेशन
समाज विविध

तीनकुनेमा आन्दोलनकारीको आक्रमण छिचोल्दै महानगरको दमकलले यसरी निभायो आगो

काठमाडौं– राजसंस्थावादीको संरक्षणमा काठमाडौंको तीनकुनेमा भएको आन्दोलनले उग्र रुप लिँदा गरिएको घरको आगजनी काठमाडौं महानगरको दमकलले निभाएको छ। 

आगो नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको गाडी फर्किए पनि आक्रमणकाबीच महानगरको दमकल आगजनी स्थल पुगेको थियो। 

दमकल चालक र दलका सदस्य घाइते हुनेगरी आक्रमण भए पनि आगो नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ। ‘काठमाडौंको भौतिक सामग्री, घरमा आगजनी र आक्रमण हुनु राम्रो होइन’, महानगरले भन्यो,‘काठमाडौंका जनतालाई सास्ती हुने काम राम्रो होइन, महानगर साथमा छ।’

काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा प्रहरीले दमन गरेपछि उग्र रुप लिएको थियो। 

आगो निभाउनका लागि काठमाडौं महानगरपालिकाले पठाएको दमकलमाथि आन्दोलनकारीले तोडफोड गरेका थिए। 

महानगर स्रोतका अनुसार दमकललाई अवरोध गरिनुका साथै तोडफोड गरिएको थियो। 

आगजनीपछि प्रहरीले थप बल प्रयोग गरी आन्दोलनकारी तितरबितर पारिरहेकाबीच दमकल आगजनीस्थल पुग्दा अवरोध भएको थियो। 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध