नेभिगेशन
खेलकुद

एनएसएलको रौनकबीच नेपाली फुटबलको भविष्य अझै ओझेलमा

घरेलु फूटबलको पर्व : एनएसएलको तेस्रो संस्करण आजबाट, उद्घाटनमा काठमाडौं र ललितपुर भिँड्ने

काठमाडौं- आजबाट नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण सुरु हुँदै छ।

नेपाली फुटबलका लागि यो एउटा महत्त्वपूर्ण अवसर भए पनि देशको मुख्य फुटबल प्रतियोगिता मानिने सहिद स्मारक ए डिभिजन लिग भने विगत दुई वर्षभन्दा बढी समयदेखि आयोजना हुन सकेको छैन। यो अवधिमा एनएसएल भने दोस्रो पटक सम्पन्न  हुने तरखरमा रहेको छ ।

ए डिभिजन लिगको अभावमा नेपाली    फुटबलको आधारभूत संरचना र विकासमा ठूलो असर परिरहेको छ । सहिद स्मारक ए डिभिजन लिग नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता हो।

यो लिग नेपाली फुटबलको मेरुदण्ड मानिन्छ। यो प्रतियोगिताले खेलाडी उत्पादनदेखि क्लबहरूको प्रतिस्पर्धात्मक स्तर कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। तर, पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि यो लिग आयोजना हुन नसक्दा नेपाली फुटबलको नियमित गतिविधि ठप्प जस्तै भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न कारण देखाउँदै ए डिभिजन लिगलाई प्राथमिकतामा राख्न सकेको छैन। आर्थिक संकट, क्लबहरूसँगको विवाद र व्यवस्थापकीय कमजोरीजस्ता कारणहरूले लिग रोकिएको बताइए पनि यी समस्याको समाधानका लागि ठोस कदम चालिएको देखिँदैन।

सन् २०२३ मा भएको ४५औं संस्करणपछि यो लिगको कुनै मिति घोषणा भएको छैन। चर्च ब्वाइज युनाइटेडले उक्त संस्करणको उपाधि जितेको थियो, तर त्यसयता लिगको निरन्तरता कायम हुन सकेको छैन।

एनएसएलको उदय र प्रभाव
यता, नेपाल सुपर लिग (एनएसएल) भने छोटो समयमै नेपाली फुटबलमा चर्चित बनेको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने यो फ्रेन्चाइज आधारित प्रतियोगिता पहिलो पटक २०७८ वैशाखमा भएको थियो।

पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करण २०८० मा सम्पन्न भएको थियो। आजबाट सुरु हुने तेस्रो संस्करणले पनि दर्शक र प्रायोजकहरूको ध्यान तानेको छ।

एनएसएलले व्यावसायिकता र मनोरञ्जनको पक्षलाई जोड दिएको छ। दशरथ रंगशालामा हुने यो प्रतियोगितामा फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडीसमेत समावेश गरेर खेल्छन्, जसले दर्शकको रुचि बढाएको छ। तर, यो प्रतियोगिता छोटो अवधिको हुने र सीमित टोलीहरू मात्र सहभागी हुने भएकाले यसले ए डिभिजन लिगको स्थान लिन सक्ने अवस्था छैन।

ए डिभिजन लिगमा १४ क्लबले नियमित रूपमा प्रतिस्पर्धा गर्छन् र यो लिगले खेलाडी विकासदेखि रेलिगेसन र प्रमोसनको संरचनामार्फत फुटबलको आधार बलियो बनाउँछ। एनएसएलमा यस्तो संरचना नहुँदा यो प्रतियोगिता मनोरञ्जनमा केन्द्रित देखिन्छ।

एन्फामाथि प्रश्न : प्राथमिकता केमा ?
ए डिभिजन लिगको अभाव र एनएसएलको निरन्तर आयोजनाले एन्फाको प्राथमिकतामाथि प्रश्न उठेको छ। फुटबल विश्लेषकहरूका अनुसार, एन्फाले देशको मुख्य लिगलाई जीवित राख्नुभन्दा व्यावसायिक लाभ हुने एनएसएललाई बढी महत्त्व दिएको देखिन्छ।

एनएसएलको आयोजनामा एन्फाको प्राविधिक सहयोग रहन्छ, तर ए डिभिजन लिगका लागि कुनै ठोस योजना अघि नसारिनुले नेपाली फुटबलको दीर्घकालीन विकासमा ठूलो घाटा पुगिरहेको छ।

ए डिभिजन लिग नहुँदा खेलाडीहरूलाई नियमित खेल्ने अवसर छैन। एनएसएल छोटो समयको हुन्छ र सबै खेलाडीले मौका पाउँदैनन्। मुख्य लिग नहुँदा नयाँ प्रतिभाहरु अगाडी आउँन निकै मुस्किल हुन्छ । 

यसको उदाहरण हो भर्खरै सम्पन्न एसिया कप छनौट अन्तर्गतको मलेसिया विरुद्दको खेल । नवनियुत्त परिक्षकलाई प्रतियोगिताको अभावको कारण खेलाडी छनौट गर्न नै मुस्किल परेको थियो । उनले बिना कुनै आधार खेलाडीहरुलाई राष्ट्रिय टिममा समावेश गराएका थिए । 

नेपाली फुटबलमा देखिएको घाटा
ए डिभिजन लिगको अनुपस्थितिले नेपाली फुटबलमा बहुआयामिक असर परेको छ। पहिलो, खेलाडीहरूले नियमित खेल्ने अवसर गुमाइरहेका छन्, जसले उनीहरूको प्रदर्शन र करियरमा नकारात्मक प्रभाव परेको छ।

दोस्रो, क्लबहरू आर्थिक संकटमा परेका छन् किनभने लिग नहुँदा प्रायोजक र दर्शकको समर्थन घट्दै गएको छ। तेस्रो, नयाँ प्रतिभाहरूले आफूलाई प्रमाणित गर्ने मञ्च गुमाउँदा राष्ट्रिय टोलीको स्तर पनि प्रभावित हुने जोखिम छ।

यसैबीच, एनएसएलले छोटो समयमा चर्चा कमाए पनि यसले दीर्घकालीन संरचना बनाउन नसक्ने चिन्ता छ। नेपालका केही प्रशिकहरु भन्छन्, “एनएसएल राम्रो पहल हो, तर यो ए डिभिजन लिगको विकल्प होइन। हामीलाई नियमित लिग चाहिएको छ, जहाँ सबै क्लब र खेलाडीले मौका पाउन्।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद