नेभिगेशन
विचार

मान्छे मारिदासमेत मौन ज्ञानेन्द्र शाह: डर कि वेवास्ता ?

तपाईलाई नेता मान्दै र तपाईको अधिकार हो भन्दै तपाईका लागि मान्छेहरू मरिरहेका छन् भने तपाई त्यसमा के गर्नु हुन्छ ? ति व्यक्तिहरूप्रति तपाईको न्युनतम मानवीय संवेदना रहन्छ कि रहदैन ? तपाई ति मध्ये कोही व्यक्ति मर्छन् भने श्रद्धाञ्जली दिनुहुन्छ कि हुन्न ? यहि देश बनाउने भन्ने तपाईको सपना हो भने देशमा आगो बल्दा तपाईलाई दुख्छ कि दुख्दैन ? देशमा आगो नबलोस् भन्नु हुन्छ कि हुन्न ? 

यो तपाईको कुरा भयो । न्युनतम मानवीय संवेदना भएको जोसुकैले त्यस्ता घटनाहरू प्रति संवेदनशील भएर श्रद्धाञ्जली दिन्छ । तर त्यो घटना भएको दिन बितिसक्दा पनि ज्ञानेन्द्र शाह मौन छन् । उनको मौनतामा कि त डर छ कि त वेवास्ता ? आखिर के कारण हुन सक्छ भन्ने निष्कर्षमा पुग्नु अगाडि घटना हुनुसम्मको समयरेखा स्मरण गरौँ ।

प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्र शाहले एउटा भिडियो सन्देश जारी गरे, जसमा उनले भने, “अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको एकता र समृद्धिका लागि हामीलाई साथ दिन सबै देशबासीहरूलाई आह्वान गर्दछौँ ।” 

यो सन्देशले राजावादीहरूलाई ठूलो उत्साह प्रदान गर्यो । सन्देशको प्रभाव यति गहिरो थियो कि पोखरा घुमेर काठमाडौँ फर्किएका पूर्वराजालाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न हजारौँको संख्यामा राजावादीहरू जम्मा भए । उनीहरूलाई स्कर्टिङ गर्दै निर्मल निवाससम्म पुर्याइयो । यो घटनाले राजावादी आन्दोलनको संगठनात्मक शुरूआतको संकेत गर्यो । तर, यो कार्यक्रमको नेतृत्वलाई लिएर राप्रपा, दुर्गा प्रसाइँ र कमल थापाबीच हानाथाप नै चल्यो, जसले आन्दोलनको आन्तरिक कमजोरी र अराजकतालाई उजागर गर्यो ।

यो उत्साहले एउटा ठोस रूप लियो जब पुराना पञ्चे नेता नवराज सुवेदी, जो राष्ट्रिय पञ्चायतका अध्यक्ष र पटक-पटक मन्त्री भएका ८८ वर्षीय व्यक्ति, लाई कमान्डर बनाएर संयुक्त जनआन्दोलन समिति गठन भयो । यो समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्ने कुरा ओपन सिक्रेटको रूपमा चर्चित छ । 

समितिले चैत्र १५ मा काठमाडौँको तिनकुनेमा प्रदर्शन आयोजना गर्यो, जुन एकदमै हिंस्रक बन्यो । प्रदर्शनकारीहरूले घरहरूमा आगजनी गरे, सरकारी गाडीहरू जलाए, निजी सम्पत्ति र भाटभटेनी सुपरमार्केटमा लुटपाट गरे । मिडिया हाउसमा ढुंगामुढा प्रहार गरियो, एक जना पत्रकारको खुट्टा भाँचियो, र प्रहरीको हतियारसमेत खोसियो । एयरपोर्ट छेउमा र जडिबुटी प्रशोधन केन्द्रजस्तो प्रज्वलनशील तेल भएको क्षेत्रमा आगजनी गरियो, जसले ठूलो जोखिम र त्रास सिर्जना गर्यो ।

यो हिंसाको परिणामस्वरूप दुई जनाको मृत्यु भयो, एक जना गोली लागेर र अर्को पत्रकार आन्दोलनकारीले लगाएको आगोमा परेर । आगो निभाउन गएको दमकललाई तोडफोड गरेर रोकियो, जसले क्षति अझ बढायो । दुर्गा प्रसाइँले प्रहरीमाथि नै गाडी चढाउने प्रयास गरे । दर्जनौँ प्रहरी र आन्दोलनकारी घाइते भए । यी सबै घटना ज्ञानेन्द्र शाहको भिडियो सन्देशबाट प्रेरित आन्दोलनको परिणाम थिए ।

यी सबै घटना भएको २४ घण्टा बितिसक्दा पनि ज्ञानेन्द्र शाह मौन छन् । न त उनले कुनै विज्ञप्ति जारी गरे, न त मृतकप्रति श्रद्धाञ्जली नै व्यक्त गरे । उनको यो मौनताले यस्तो लाग्छ कि देशमा केही भएको छैन, कोही मरेका छैनन्, केही जलेको छैन । यो व्यवहारले उनको गैरजिम्मेवारीलाई स्पष्ट रूपमा देखाउँछ ।

शाहले राष्ट्रिय एकता र समृद्धिको नारा दिएर आन्दोलनलाई प्रेरित गरे, तर त्यसको परिणामस्वरूप भएको हिंसा र मृत्युको जिम्मेवारी लिनबाट पूर्ण रूपमा पन्छिए । यस्तो मौनताले प्रश्न उठाउँछ: मान्छे मारिदासमेत ज्ञानेन्द्र शाह मौन हुनुको कारण के हो ? डर कि वेवास्ता ?

विश्लेषण गर्ने हो भने ज्ञानेन्द्र शाहको मौनता डरको कारणले भएको हुन सक्छ । उनी आफ्नो व्यक्तिगत सुरक्षालाई लिएर चिन्तित हुन सक्छन् । हिंस्रक प्रदर्शनपछि सरकारले उनलाई कानुनी कारबाही गर्न सक्ने सम्भावनाले पनि उनलाई मौन रहन बाध्य बनाएको हुन सक्छ । २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भएको इतिहास र त्यसपछिको उनको सीमित भूमिकालाई हेर्दा यो डरको तर्कमा केही सत्यता देखिन्छ । तर, यदि उनले साँच्चै राष्ट्रिय एकताको लागि आन्दोलनलाई प्रेरित गरेका थिए भने, यस्तो संकटको बेला बोल्नु उनको नैतिक जिम्मेवारी थियो । डरले उनलाई रोकेको भए पनि, यो उनको कमजोरी र गैरजिम्मेवारीको संकेत मात्र हो ।

गहिरिएर हेर्ने हो भने डरभन्दा पनि वेवास्ताको सम्भावना ज्ञानेन्द्रमा बलियो देखिन्छ । ज्ञानेन्द्र शाह आन्दोलनको परिणामप्रति उदासीन हुन सक्छन् । उनको लक्ष्य यदि सत्तामा फर्कनु थियो भने, हिंसा र मृत्यु उनको लागि केवल साधन मात्र हुन सक्छन्, जसप्रति उनले कुनै भावनात्मक वा नैतिक जिम्मेवारी महसुस गरेनन् । उनले मृतकप्रति श्रद्धाञ्जली नदिनु र घटनालाई पूर्ण रूपमा बेवास्ता गर्नुले यो देखाउँछ कि उनी आफ्नो व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित छन् । यो वेवास्ताले उनको राष्ट्रिय एकता र समृद्धिको नारालाई खोक्रो साबित गर्छ । 

यदि उनी साँच्चै देशको हित चाहन्थे भने, हिंसाको निन्दा गर्दै आन्दोलनकारीहरूलाई शान्त रहन आह्वान गर्न सक्थे । तर, उनको मौनताले उनको गैरजिम्मेवारी र उदासीनतालाई पुष्टि गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विचार