नेभिगेशन
विश्व

म्यानमार भूकम्पमा अहिलेसम्म १६४४ जनाको मृत्यु, ३४ सयभन्दा बढी घाइते

काठमाडौँ - शुक्रबार म्यानमार र थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पपछि ठूलो क्षति भएको छ । 

पछिल्लो विवरण अनुसार म्यान्मारमा मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । म्यानमारको सरकारी मिडियाले भूकम्पबाट घाइते हुनेको संख्या ३४०८ पुगेको छ । मृतक र घाइतेहरूको संख्या बढ्ने अनुमान गरिएको छ ।

म्यानमारको आर्मीले १६४४ जनाको मृत्यु भएको जानकारी दिदै अझै १३९ जना बेपत्ता रहेको जानकारी दिएको हो ।  

रिक्टर स्केलमा ७.७ म्याग्निच्युडको यस भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो शहर मन्डले नजिकै थियो । रिपोर्टका अनुसार दिउँसो १२ बजेतिर भूकम्पको धक्का महसुस भएको केही समयपछि ६.४ म्याग्निच्युडको भूकम्प पनि गएको थियो ।

म्यानमार सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रका अस्पतालहरूको रक्त बैंकहरूमा रगतको अभाव रहेको बताएको छ । 

म्यानमारमा पहिलो भूकम्प शुक्रबार बिहान ११:५० बजे गएको थियो, यसको तीव्रता ७.२ मापन गरिएको थियो । यसपछि, दोस्रो भूकम्प दिउँसो १२:०२ बजे आयो, यसको तीव्रता ७ मा मापन गरिएको थियो । यसपछि, एक-एक घण्टाको अन्तरालमा थप दुई भूकम्पका झट्का महसुस गरियो । भूकम्पको धक्का भारत, चीन र बंगलादेशसम्म महसुस गरिएको थियो ।

भूकम्पले थाइल्यान्डमा पनि ठुलो असर गरेको छ । बैंकक प्रहरीले दिउँसो थाई राजधानीमा गएको ७.७ म्याग्निच्युडको भूकम्पमा निर्माणाधीन एउटा गगनचुम्बी भवन भत्किएको बताएको छ । सो भवनमा कम्तिमा १५ जना अझै सकुशल रहेको र उनीहरुको उद्धारको प्रयास जारी रहेको थाई मिडियाहरुले उल्लेख गरेका छन् ।

शक्तिशाली भूकम्पपछि म्यानमार र थाइल्याण्डमा आपतकाल घोषणा गरिएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.२ र ७.० भएको बताएको छ । पहिलो दुई भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर तल थियो भने तेस्रो भूकम्प जमिनभन्दा २२.५ किलोमिटर तल गहिराइमा गएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व