नेभिगेशन
खेलकुद

खसी कपमा भिड, एनएसएलमा सुनसान

काठमाडौ - नेपाल सुपर लिग (एनएसएल) आजबाट औपचारिक रूपमा सुरु भएको छ। पहिलो खेलमा काठमाडौँ र ललितपुरबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितालाई भव्य बनाउन र दर्शकको हाइप बढाउन एनएसएल व्यवस्थापन टोलीले चर्चित गायक दुर्गेश थापालाई आमन्त्रण गरेको थियो।

दुर्गेशको पछिल्लो हिट गीत ‘दुशमन हेरेको हेरै’ अहिले नेपालभर लोकप्रिय छ। तर, यति ठूलो प्रयास र प्रचारका बाबजुद पनि पहिलो खेलमा दर्शकको उपस्थिति निकै कम देखियो।

काठमाडौँ उपत्यकाभित्रका दुई क्लबबीच भएको खेलमा स्टेडियम लगभग खालीजस्तै देखिन्थ्यो। भिआइपीमा बसेका केही दर्शकहरुसँग पास भएको अनुमान गर्न सकिन्छ। एनएसएलले ठूलो लगानी र चर्चित व्यक्तित्वलाई समावेश गरेर माहोल बनाउने कोसिस गरे पनि दर्शकको रुचि जाग्न सकेन। यसको तुलनामा नेपालका गोल्डकप प्रतियोगिताहरूमा देखिने क्रेज र उत्साहले एनएसएलको कमजोरीलाई झनै उजागर गरेको छ।

गोल्डकपको क्रेज र एनएसएलको कमजोरी

नेपालका विभिन्न ठाउँहरुमा हुने गोल्डकप प्रतियोगिताहरु दर्शकको ठूलो भीडले भरिने गर्छन्।

गोल्डकपमा ठूलो प्रचार नभए पनि स्थानीय समुदायको संलग्नता र खेलप्रति उत्साहले स्टेडियमहरू खचाखच हुने गरेका छन्।

तर, एनएसएलको पहिलो संस्करणदेखि नै  दर्शकको रुचि कम देखिएको छ, र यो वर्ष पनि त्यो प्रवृत्ति कायमै रहेको छ।

खशी कपजस्ता साना स्थानीय प्रतियोगितामा समेत दर्शकको भीड उल्लेखनीय हुने गरेको छ। खशी कपमा ठूलो बजेट वा प्रचार नहुँदा पनि समुदायको सहभागिता र उत्साहले त्यसलाई जीवन्त बनाउँछ। 

एनएसएलको अर्को ठूलो कमजोरी भनेको यो प्रतियोगिता काठमाडौँमा मात्र सीमित हुनु हो। देशका विभिन्न क्षेत्रमा फुटबलको ठूलो फ्यान बेस भए पनि एनएसएलले उपत्यकाबाहिरका दर्शक र टोलीहरूलाई समेट्न सकेको छैन।

गोल्डकपहरूले देशका विभिन्न सहर र गाउँहरूमा फुटबलको माहोल बनाउँदा एनएसएल काठमाडौँको एउटा रङ्गशालामा मात्र केन्द्रित छ।

यसले उपत्यकाबाहिरका फुटबलप्रेमीहरूलाई जोड्न नसकेको स्पष्ट हुन्छ। काठमाडौँमै आयोजना हुँदा पनि दर्शकको सङ्ख्या कम हुनुले एनएसएलको पहुँच र प्रभावमाथि प्रश्न उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद