काठमाडौं–कहिलेकाहीँ आफ्नै क्षेत्रको पनि आत्ममूल्यांकन आवश्यक हुन्छ।
कतिपयलाई अहिले भ्रम छ– पत्रकार भनेपछि उसले कानुन मान्नु पर्दैन, कानुनभन्दा माथि छ।
अर्कोलाई त्यस्तै दिग्भ्रमको भुमरीले गाँजेको छ। हुटिट्याउँले आकाश थामे जस्तो यो देशको लोकतन्त्रको ठेक्का पनि पत्रकारले लिएको छ।
वास्तवमा व्यवाहारिक त्यो होइन। पत्रकारिता पेशा हो, लोकतान्त्रिक पद्दती यसको मूल मानक हो।
अनि भविष्यको रेखाङ्कन र अड्कलबाजी पत्रकारिताको आयाम पनि होइन, अनि अल्पज्ञान भएकाले प्रशासनयन्त्र नै आफूले भनेपछि भैहाल्छ भन्ने अर्को भ्रमित छर्राको घाइते बन्नु आत्मरोगी हुनु हो।
समदूरीका आफ्ना व्याख्या छन्। जिम्मेवारी छन्।
भ्यागुतो उफ्रिएर पानीबाट दलानमा पुगेपछि अलिक सानो स्वरमा कराउँछ। तर, कराउँनचाहिँ कराउँछ। हाम्रा गाउँतिर बर्षा लाखेपछि साँझको समय बत्तीमा लाग्ने छिचिमिरा खान विभिन्न साइजका भ्यागुता त्यसरी दलानतिर देखा पर्छन्।
आज भयङ्कर क्रान्तिकारी बनेर विचार बाँडिरहेका केही थान पत्रकार देख्दा मलाई ति भ्यागुताको याद आयो। गाउँघरतिर उखान छ नि– ‘मुखमा माड छैन, पिँधमा घ्यू’।
खानलाई तलब समयमा आएको छैन, श्रमजीविलाई मालिकले दलन गरिरहेको छ। तर हाकिम बनेको सम्पादकचाहिँ लोकतन्त्र यस्तो, उस्तो भनेर गीत गाइरहेको छ। डमरु कसले बजाउने हो, नाच्ने को हो थाहा छैन।
पत्रकारको भूमिका र जिम्मेवारीसहित तर्क राख्नेछु। तर, त्यसअघि यो आइसकेको तर सानो भूमिका नबाँधी नहुने विषय यहाँ उल्लेख गर्न चहान्छु।
तिनकुनेमा २०८१ चैत १५ गते प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए। २९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए। प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो।
राजावादीबाट आगजनी भएको घरसँगै पत्रकार सुरेश रजकको शव फेला परेको छ। शव पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए। रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए।
आफ्नै क्षेत्रको भएका कारण रजकलाई हार्दिक श्रद्धाञ्जलीसहित परिवारमा समवेदना प्रकट गर्दछु।
यसैगरी महर्जनप्रति पनि मानवीय भावको श्रद्धासुमनसहित परिवारजनमा समवेदना भनेर अघि बढ्छु।
अहिले लेख्न नपाउने त्रास छैन। न नेपाल उत्तर कोरिया नै बन्न सक्ला। बोल्न पाउने प्राधिकार सबैमा निहीत छ। ०६२–६३ को जनआन्दोलनअघि राजतन्त्रकालमा भएको पत्रकारिताको विषयमा पढाउँदै त्यहि अन्धकार हुन्छ भन्ने गलत भाष्य सृजना गर्ने चेष्टा भैरहेका छन्।
सूचना प्रविधिको युगमा, यसको प्रयोगमा अब्बल भएको नयाँ पुस्तालाई थाहा छ, स्वतन्त्रता भनेको। यो बुझाइरहनु र बुझिरहनुपर्ने विषय पनि होइन। दलीय दासत्वकरणमा रहेर दाम चढाउन नपाउने पत्रकारहरूले लेख्ने हो– त्यसबेलाको राजतन्त्रमा यस्तो थियो, आए त्यस्तै हुन्छ भन्ने।
मानिसका भावनाका भेल, जनतामाथि लादिएको दलीय कुसाशन र त्यसले सृजित अवस्थाबारे यहाँ लेख्ने बानी छैन। किनभने, ति नेता र तिनका बिचौलियाबाट पालिएका सम्पादक, लेखकहरू त्यसबेला निस्कन्छन् र भारी शव्द खर्च गर्छन् जसबेला तिनका मालिकमाथि संकट आइलाग्छ।
पत्रकारिताको मात्र त होइन यो विषय तैपनि पत्रकारलाई सम्झना र झस्कनाका लागि केही सिद्धान्तलाई संक्षेपमा स्मरण गराउँछु।
- कुनै पनि समाचार वा जानकारी प्रकाशित गर्नु अघि यसको सत्यता सुनिश्चित गर्नुपर्छ।
- राजनीतिक वा आर्थिक स्वार्थका आधारमा पक्षपातपूर्ण रिपोर्टिङ गर्नु हुँदैन।
- समाचार लेख्नुअघि पर्याप्त अनुसन्धान गर्नु आवश्यक छ।
- सूचना साँचो हो वा होइन भनेर क्रस–चेक गर्नुपर्छ।
- समाजका समस्या, अन्याय, भ्रष्टाचार वा महत्वपूर्ण विषयहरूमा रिपोर्टिङ गर्नु।
- आम नागरिकका मुद्दाहरू उजागर गरेर उनीहरूको हितका लागि काम गर्नु।
- पत्रकारहरूले गोप्य स्रोतहरूको सुरक्षा गर्नुपर्छ।
- व्यक्तिगत जीवनमा हस्तक्षेप नगरी मर्यादित पत्रकारिता गर्नुपर्छ।
अब अघि बढौं,
पत्रकारिताको नयाँ आयाम भन्दै दलीय दासत्व र तिनका भ्रष्ट चरित्रबीच बिचौलियाको भूमिकामा रहेका सञ्चारगृह र तिनका मालिक अनि तिनको केही लाख तलबमा बरिष्ठ बनेका सम्पादकले बडो प्रगतिशील भएर लेखें भन्ने ठान्छन्।
एक अर्थमा यी ज्ञानीहरू कोही जीबी राईका दैलोमा र कोही नेताको कोटरीमा फेला परेका इतिहास राम्रै छ।
‘बार्गेनिङ’ बहुआयामीक भ्रष्ट दल भयो भने गर्न सहज देखेपछि बेलामौका यीनले ‘ज्ञानपुञ्ज’ छाड्छन् र बाँकी समय तिनै दलका नेताको परोक्ष चाकरीमा समय घर्काउँछन्, श्रमजीवि एकातिर तलब नपाएर रोइरहेको हुन्छ अर्कातिर उनीहरू लोकतन्त्र नामको चरीका पँखेटा बनाइरहेका हुन्छन् अनि उडाउँछन्।
अहिलेको युगमा स्वतन्त्रताको बानी लागेका मानिसले निरङ्कुशतन्त्र रोज्छ भन्ने भ्रम किन बाँडिएको छ? के तिनकुनेको आन्दोलनमा मारिएका युवा महर्जन त्यसै आएका थिए? किन आएका थिए होला? तिनको मर्मबारे बरिष्ठहरूले समान स्थान दिएर बोल्न सके?
दुर्गा प्रसाईं एक जना गलत मानिस अगाडि बढे उ पो गलत हुन्छ आन्दोलन र मानिसका भावना गलत हुन्छन्? हाम्रा सीमा र दायित्व भनेको समान स्थान दिनु हो। तर, मूलधार भनिएका अखबारका भवनमा किन हानिए ढुङ्गा? समान स्थान दिने कर्तव्यबिमुख भएका कारणले हो भन्ने आत्मसमिक्षा मिडिया र तिनका सम्पादले गर्नु पर्छ कि पर्दैन?
रवि लामिछानेले ठिकै भनेका रहेछन् सदनमा– कसैलाई पक्राउ गर्न हुन्न लोकतन्त्र धरापमा परिहाल्छ। कानुनको सीमारेखामा बस्न नसक्नेले समानताको दृष्टि भाव राख्न सक्तैन, यस्तो दोषी चश्मा लगाएका आजका मिडिया मालिक र सम्पादकबाट जनभावना र लोकतन्त्रको समान अधिकारको भावनालाई बिम्ब बनाएर पोख्न सक्तैन, यो नेपालीको दुर्भाग्य हो।
यहाँ प्रधानमन्त्री बन्नका लागि त्यहि राजालाई दाम राखी आधा प्रतिगमन सच्चियो भन्नेदेखि राजासँग सम्झौता गरी यो देशको लोकतन्त्र हरणको सम्झौता हुन नसक्दा भारतीयसँग लम्पसार पर्नेसम्मका मानिसको नुन खाएपछि देखिने त्यस्तै तस्बिर हो।
५०औं हजार मानिस मारेर सिंहासनमा पुगेका व्यक्तिलाई महान् लोकतन्त्रवादी देख्ने सम्पादक या पत्रकारले समान आवाजमा नागरिकलाई साथ दिन सक्तैन, यसैकारण नागरिकको आवाज बोल्ने रवि लामिछाने मन नपराउनेहरूले झन् राजा नै माग्नेहरू सबैलाई एकै डालामा राखेर तानाशाही देख्नु कुन नयाँ कुरा भयो र?
दलकारिताका मानिसले काम गर्न नदिँदा, रोक्न खोज्दा नयाँ विन्दुको स्वतन्त्र आवाज बोल्ने बालेनहरूलाई यीनको पत्रकारिताले अराजक देख्नु पनि अस्वभाविक भएन, अब। यीनिहरुले पत्रकारितालाई आईसीयुमा लगिसके, अब दलीय दासहरूबाट जोगिन आवश्यक भएन र?