नेभिगेशन
विश्व

गाजामा युद्धविरामको प्रयास: इजिप्ट र कतारको प्रस्ताव हमासद्वारा स्वीकार, इजरायल असहमत

काठमाडौँ - हमासले गाजामा युद्धविरामको लागि इजिप्ट र कतारबाट आएको नयाँ प्रस्ताव स्वीकार गरेको बताएको छ । मिडिया रिपोर्टका अनुसार नयाँ प्रस्ताव हमासले स्वीकार गरेपनि इजरायलले यसमा सहमति जनाउन अस्वीकार गरेको छ । साथै इजरायलले अमेरिकासँग मिलेर नयाँ प्रस्ताव अघि सारेको छ ।

इजिप्टले यस हप्ताको सुरुमा नयाँ युद्धविरामको प्रस्ताव गरेको थियो । यस अन्तर्गत, हमासले एक अमेरिकी-इजरायली नागरिक सहित पाँच जीवित बन्धकहरूलाई रिहा गर्नुपर्ने उल्लेख थियो । बदलामा, इजरायलले गाजामा राहत सामग्री पुर्‍याउन अनुमति दिनु पर्ने थियो र केही हप्ताको लागि आक्रमणहरू रोक्नु पर्ने थियो । थप रूपमा, इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने प्रस्ताव रहेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले नयाँ प्रस्ताव स्वीकार नगरेको बताएको छ । यद्यपि, इजरायलले अमेरिकासँगको सहकार्यमा नयाँ प्रस्ताव अघि सारेको छ । तर यो प्रस्तावमा के छ भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।

करिब डेढ हप्ता अघि, इजरायलले अचानक गाजामा फेरि आक्रमण सुरु गर्यो, जसमा सयौं प्यालेस्टिनीहरू मारिएका छन् । अमेरिकाले यसको लागि हमासलाई दोष दिएको छ । इजरायलले हमासको हिरासतबाट ५९ बन्धकहरूलाई रिहा नगरिएसम्म युद्ध जारी रहने बताएको छ । यी मध्ये २४ जना जीवित रहेको पुष्टि भएको छ ।

हमासले इजरायलले स्थायी युद्धविराम, गाजरबाट सेनाको पूर्ण फिर्ता र प्यालेस्टिनी कैदीहरूको रिहाइमा सहमत भएमा मात्र बन्धकहरूलाई रिहा गर्ने बताएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व