नेभिगेशन
मनोरञ्जन

अर्बपति बेजोसले इटालीको सुन्दर शहर भेनिसमा विवाह गर्दै

काठमाडौँ - अमेजनका संस्थापक तथा अर्बपति ६१ बर्षिय व्यवसायी जेफ बेजोसको विवाह इटालीको सुन्दर शहर भेनिसमा हुँदैछ । उनले आफ्नी प्रेमिका लोरेज सान्चेजसँग विवाह गर्न लागेका हुन् ।

भेनिस प्रशासनले विवाहको मिति पुष्टि गरेको छैन। यद्यपि, इटालियन मिडिया रिपोर्टहरूका अनुसार विवाह समारोह जुन २४ देखि २६ सम्म हुनेछ र उत्सव धेरै दिनसम्म चल्नेछ ।

भेनिसका स्थानीय र पर्यटकहरूलाई कुनै असुविधा नहोस् भनेर बेजोसको विवाहमा २०० जना पाहुनालाई मात्र आमन्त्रित गरिएको शहर प्रशासनले बताएको छ । भेनिसले अन्तर्राष्ट्रिय सम्मेलन, चलचित्र महोत्सव र ठूला निजी कार्यक्रमहरू आयोजना गर्नमा विशेषज्ञता राख्छ, त्यसैले विवाहले शहरको सामान्य दिनचर्यामा बाधा पुर्‍याउने छैन ।

केही मिडिया रिपोर्टहरूले भेनिसका विलासी होटलहरूमा सयौं कोठाहरू विवाहको लागि बुक गरिएको छ र शहरका गोन्डोला र पानी ट्याक्सीहरू पनि बुक गरिएको छ । 

भेनिसले यसअघि धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूको विवाहको साक्षी बनिसकेको छ । सन् २०१४ मा हलिउड स्टार जर्ज क्लुनी र अमल क्लुनीले पनि यहीँ विवाह गरेका थिए ।

बेजोसले २०१९ मा आफ्नो २६ बर्षको वैवाहिक सम्बन्ध टुंगाउदै स्कट मेकेन्जीसँग डिभोर्स गरेका थिए । बेजोज र मेकेन्जीका तीन छोरा र एक छोरी छन् ।  

बेजोसले डिभोर्सपछि लोरेज सान्चेजसँग २०२३ मा इन्गेजमेन्ट गरेका थिए । ५५ बर्षिय सान्चेज अमेरिकी पत्रकार र लेखिका हुन् । उनको यस अघि व्यवसायी पाट्रीक ह्वाइटसेलसँग २००५ मा विवाह भएको थियो भने दुवैले २०१९ मा डिभोर्स गरेका थिए । दुवैका तीन छोरा छोरी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन