नेभिगेशन
राजनीति
टिप्पणी

माओको मुकुन्डोमा दुशासनको नियतः सय गल्तीमा शिशुपाल पनि मारिए, प्रचण्डलाई १० प्रसङ्ग

प्रचण्डले घाँटीको नशा फुट्नेगरी हुँकार नछाडे हुन्छ। शिशुपाललाई सय गल्तीसम्म माफ दिएझैं जनताले माओवादीलाई अनेक गल्तीमा माफ दिएको छ। अब, असह्य हुन थाल्यो

काठमाडौं– माओका कुरा हुनेछन्। त्यसअघि महाभारतका दुई पात्र दुशासन र शिशुपालका विषयलाई प्रस्थानविन्दुमा राखौं।

महाभारतको सामान्य पनि ज्ञान राख्नेले दुशासनबारे जानकारी राखेको हुन्छ। 

दुशासन त्यहि जसले द्रौपदीको बस्त्र हरण गरेको थियो अनि हस्तिनापुरको महासभामा भयंकर–भयंकर महारथी पनि मुकदर्शक बनेका थिए।

दुर्योधनको आदेश पालक दुशासन उसको अपराधको एउटा कर्मयोगी रहेको ग्रन्थमा उल्लेख छ। 

महाभारतबारे यहाँ किन पनि उद्दरण राख्न आवश्यक छ भने यो धर्मयुद्धको कथा थियो। 

महाभारतका अर्का पात्र शिशुपालका सन्दर्भमा भने धेरै कमले ध्यान राखेको हुनुपर्छ। 

महाभारतमा, शिशुपाल चेदि राज्यका राजा थिए। उनी श्रीकृष्णका काका राजा दमघोषका पुत्र थिए। शिशुपालको जन्मका बेला उनको शरीरमा तीन आँखाहरू र चार हात थिए, जसले गर्दा उनको आमाबुबा डराए। 

भविष्यवाणी अनुसार, शिशुपाललाई जसले पहिलो पटक काखमा लिएर माया देखाउनेछ, उही व्यक्तिको हातबाट उनको मृत्यु हुनेछ।

जब श्रीकृष्णले उनलाई काखमा लिए, शिशुपालका अतिरिक्त अङ्गहरू गायब भए र उनी सामान्य देखिए। 

त्यसबेलादेखि शिशुपालकी आमाले कृष्णसँग शिशुपालको सय गल्तीहरू क्षमा गर्ने वचन लिए। तर शिशुपाल दुर्योधनको पक्षमा थिए र बारम्बार श्रीकृष्णको अपमान गर्थे। जब उनले सयभन्दा बढी पटक कृष्णलाई अपशब्द बोले, तब श्रीकृष्णले आफ्नो सुदर्शन चक्र प्रयोग गरी उनको वध गरेको धर्मग्रन्थले भन्छ। 

शिशुपालको कथा अहंकार, द्वेष, र श्रीकृष्णको दैवी न्यायको प्रतीक मानिन्छ।

अब, माओ त्सेदोङको थोरै प्रसङ्गलाई यहाँ केलाऔं। 

चीनका नेता मानिने उनका पालामा के कति विकास भए ति अब गौण भए। तर, उनको नाममा नेपालमा के भयो? के भैरहेको छ? कस्ता माग थिए, कहाँ आइपुग्यो माओवादी भन्ने प्रासङ्गीक छन्।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग राखिएका ४० बुँदामा मुख्य १० बुँदामा मात्र केही तर्क राख्दै भन्न चहान्छु– शिशुपालका सय गल्ती माफ भए, माओवादीलाई १० गल्ती गर्ने छुट थिएन।

प्रतिनिधि सभालाई बोकाको टाउको कुकुरको मासु बेच्ने थलो भन्ने माओवादीले बिना निर्वाचन ८४ सिट दानमा लिएको धेरै परको कुरो होइन। यद्यपि, १२ बुँदे यता जे भयो त्यो दृश्यांकन तत्कालिक आवश्यक विषय होइन। 

जे माग राखियो त्यसमा कति धर्म जोगाइयो। यहाँ धर्म भनेको बचन, सत्यतालाई मानक बनाइएको छ। 

माओवादीले राखेका प्रमुख मध्य एउटा माग थियो– सन् १९५० को नेपाल–भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि–सम्झौताहरू खारेज गरिनुपर्दछ।

के त्यो सन्धि खारेज भयो? माओवादी शान्ति प्रक्रिया यता प्रचण्ड ३ र बाबुराम भट्टराई एक गरी चार पटक सरकारको बागडोर सम्हाल्न पुगेका थिए।

सन्धि किन खारेज नगरेको?

२०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धी तत्काल खारेज गरिनु पर्दछ।

यसको उत्तर नै प्रतिप्रश्न हो–खोई गरेको?

नेपाल–भारत खुला सीमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ।

माओवादी अहिले मुलुक आफ्नो एजेन्डामा दौडिएको ध्वाँस दिन्छ। के भारतीय नम्बर प्लेटका गाडी नेपाली सडकमा गुड्न छाडे? खुला सीमाना बन्द भयो? नियन्त्रित भयो?

गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ।

के गोरखा भर्ती केन्द्र रद्द गर्न आदीवासी जनजातीलगायतका आम जनता राजी हो? के भन्छ सम्प्रदाय? के माओवादीले रद्द गरिदियो त?

नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनु पर्दा वर्क परमिट प्रथा लागू गरिनु पर्छ।

यति हास्यास्पद पनि माग हुन्छ। विदेशी कामदार आउने त परको कुरा भयो। माओवादी शान्ति प्रक्रियामा आएपछि दैनिक २२ सय नेपाली श्रमको खोजीमा खाडी पुग्छन्। त्यसको आधाको संख्यामा युरोप, अमेरिका र अस्ट्रेलियामा अध्ययनसहित रोजगारीका लागि पुग्ने गरेका छन्।

नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्छ।

प्रचण्डहरूले उत्तर दिनुपर्छ यसमा कि शारदा अधिकारीहरू, अजयराज सुमार्गीहरू कसका उत्पादन हुन्? कसको एकाधिकारभित्र पर्छन्? 

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ।

भन्सार नीतिमा माओवादी सामेल भएको र नेतृत्व गरेको १३ वटा सरकारले कहाँनेर संसोधन गरिदियो? 

साम्राज्यवादी तथा विस्तारवादी साँस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ। देशभित्र छाडा हिन्दी सिनेमा, भिडिओ र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ।

लाज लजाउने यस्तो मागको कार्यान्वयन भयो त? नेपालमा भारतीय फिल्म रोकिए? गीत बन्द भए? सांस्कृतिक प्रदूषण भनेको के हो? कहाँ बन्द गरिदियो माओवादीले?

एनजिओ र आईएनजिओ आदिको नाउँमा देशभित्र साम्राज्यवादी–विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ।

अमेरिकाले भर्खरै बन्द गरेको यूएसएडको लगानीबारे नै माओवादीमा मतभेद छ। एमसीसीमा व्याख्यात्मक टिप्पणीका नाममा गरिएका हर्कत थाहा छैन र? 

दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।

माओवादीले कति सुकुम्वासीलाई जग्गा वितरण गरिदियो? भूमिसम्बन्धी अध्यादेश आउँदा बिरोध गर्ने नयाँ फाँसीवादी चरित्रको पार्टीका माग पूरा भए? 

अतः प्रचण्डले घाँटीको नशा फुट्नेगरी हुँकार नछाडे हुन्छ। शिशुपाललाई सय गल्तीसम्म माफ दिएझैं जनताले माओवादीलाई अनेक गल्तीमा माफ दिएको छ। अब, असह्य हुन थाल्यो। कांग्रेस र एमालेको विकल्प भन्दै आएको माओवादीलाई जनताले पत्याएको यसै कारण हो?

एउटा अन्तरवार्तामा प्रचण्डलाई सुन्दै थियो टिप्पणीकार– हामीलाई कसैले सहयोग गरेको होइन, नेपालका बैंक लुटेर हतियार किनेको? स्मरण होस्, कसको रकम लुटियो?

अहिले पालैपालो सत्तामा पुग्न कोसँग घाँटी जोडियो? जनताले हिसाबकिताब राखेका छन्। आखिर जाने जनतातिर नै होला नि, हैन र?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति