नेभिगेशन
अर्थ विविध

कार्यालय नपुग्दै नेप्से सीईओको पद चैट

काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय आधा बाटोबाटै खारेज भएको छ ।

गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकमा सहभागी मन्त्रीहरूले उनी नियुक्त भएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।

तर, नियुक्तिसँगै बधाइ खाएका लुइँटेलले अर्थ मन्त्रालयबाट अहिलेसम्म आधिकारिक जानकारी पाएका छैनन् । आफूले अर्थ मन्त्रालयमा सोधपुछ गरे पनि अर्थले अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले निकटस्थहरुलाई बताउने गरेका छन् ।

तर, मुख्यसचिव एकनारायण अर्यालले भने बुधबार नेप्से सीईओ नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गर्दै नगरेको सञ्चारमाध्यमहरूलाई बताएका थिए ।

खासमा सोमबारको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरे पनि त्यो निर्णय मुख्यसचिवबाट प्रमाणित नगरिएको स्रोतले जानकारी दियो ।

‘लुइँटेलका नाममा विभिन्न सूचना आएपछि निर्णय प्रमाणित नभएको हो,’ अर्थ मन्त्रालय स्रोतले बतायो ।

उनीबारे आएका नयाँ सूचनाका आधारमा नियुक्ति दिन नहुने पक्षमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वयं देखिएपछि निर्णय प्रमाणित हुन नसकेको स्रोतले बतायो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ‘सर्ट लिस्ट’ मा परेकामध्ये अर्को व्यक्तिलाई सीईओ नियुक्त गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

लुइँटेल सहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्ट लिस्टमा परेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध