नेभिगेशन
अर्थ विविध

औद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न थालेपछि धागो उद्योगीहरु उत्साहित

काठमाडौं -  प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न थालेपछि धागो उद्योगीहरु उत्साहित भएका छन् । 

औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक, उर्जामन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीप्रति नेपाल धागो उत्पादक संघले आभार प्रकट गरेको छ । 


औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण नेपालका सीमित निर्यातमुखी उद्योगमध्यको अग्रणी धागो उद्योग पूर्णक्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजश्व आम्दानीमाथि नै गम्भीर असर परेको सर्वविदितै छ भन्दै संघले घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवर्द्धनमा असर परिरहेको अवस्थामा भारतबाट थप बिजुली आयात गरी प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा आफूहरु हर्षित र उत्साहित भएको बताएको छ । 

संघका अध्यक्ष पवन गोल्याणद्धारा जारी प्रेस विज्ञप्तिमा संघमा आवद्ध उद्योगहरुबाट हुने उत्पादनको ८० प्रतिशतभन्दा बढी वस्तु अहिले विभिन्न देशमा निर्यात भइरहेको, २०५३ मा संघको स्थापना भएयता वार्षिक रुपमा करिब ४० हजार मेट्रिकटन धागो निर्यात गरिरहेको, यस उद्योगले निर्यातमार्फत राज्यको ढुकुटी र अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेको अवस्थामा लोडसेडिङले पारेको समस्या पूर्णरुपमा समाधान गर्दै औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने विश्वासका साथ समग्र औद्योगिक क्षेत्रको अभिभावकीय जिम्मेवारीमा सरकार खरो उत्रियोस् भन्ने अपेक्षा गरेको उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध