काठमाडौं - आन्दोलनकारी राजावादी र सुरक्षाकर्मीबीच शुक्रबार सिनामंगलमा झडप भयो। प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न टियर ग्यास हान्यो। प्रदर्शनकारी (राजावादी)हरूले टियर ग्यास टिपेर नेपाल आयल निगमको डिपोतिर फ्याक्यो।
डिपो रहेको क्षेत्रमा धुवैधुवाँ भयो। हवाई इन्धन (एटीएफ) भएर मात्रै डिपो जोगियो,’ नेपाल आयल निगम, हवाई इन्धन डिपो सिनामंगल प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले भने, ‘पेट्रोल भइदिएको भए डिपो जान्थ्यो। त्यस पछि के हुन्थ्यो भन्न सकिन्नथ्यो।’
हवाई इन्धन पेट्रोलभन्दा कम प्रज्जवलनशील मट्टितेल जस्तै हुन्छ। त्यसैकारण मात्रै जोगिएको यादवको भनाइ छ। यसैकारण, सिनामंगलस्थित हवाई इन्धनको डिपो कति सुरक्षित भनेर पुनः प्रश्न उठेको छ। ‘शुक्रबारको प्रदर्शनमा आगो डिपोतिर फालिदिएको भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै ध्वस्त हुन्थ्यो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने। यो डिपोलाई ‘हजार्ड’ को संज्ञा दिँदै भूलले यसबाट दुर्घटना निम्त्याउन सक्ने जोखिम उच्च रहेको बताए।
आयल निगम अन्तर्गतको करिब ५० वर्ष पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता ७ हजार ६ सय ६० किलोलिटर छ। हाल यहाँबाट दैनिक ४ सय किलोलिटर हवाई इन्धन बिक्री वितरण हुँदै आएको छ। यो डिपोमा १ हजार ६ सय किलोलिटरका तीनवटा, ७ सय ६० किलोलिटरका ३ वटा र ७० किलोलिटर क्षमताका ८ वटा इन्धन भण्डारण ट्यांकी छन्। यो डिपोले करिब १ महिनाका लागि हवाई इन्धन भण्डारण गर्न सक्ने क्षमता रहेको इन्जिनियर यादवले जानकारी दिए। इन्धन भण्डारण हुने स्थान संवेदनशील क्षेत्रभित्र पर्छ।
अहिलेको स्थानमा अवस्थित डिपोको कारण स्थानीय बासिन्दा, राजमार्ग एवं हवाई उड्डयन क्षेत्रमा समेत त्रास छ। त्यसैकारण, ०८१ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले एक वर्ष भित्रमा हवाई इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो।
अर्कोतर्फ, नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार, स्तरोन्नति गरी फराकिलो र सुरक्षितअन्तर्गत विमानस्थलको मुख्य धावन मार्गमा विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालल ट्याक्सी वे) निर्माण गरिरहेको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र प्राधिकरणको गुरुयोजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बीचमा दूरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। सो ट्याक्सी वे निर्माण गर्दा निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ। नियमअनुसार विमानस्थल रनवेको ७५ मिटरभन्दा दायाँ र बायाँ यस्तो खतरनाक डिपो राख्न नहुने भनिएको छ।
यो एरियालाई संवेदनशील क्षेत्र भनिने प्राधिकरणका सूचना अधिकारी भूल बताउँछन्। रनवेको १५० मिटर दायाँ र बायाँ सेफ्टी एरियामा पनि यस्ता किसिमका प्रज्वनशील डिपो राख्न मिल्दैन। आयल निगमलाई पटक–पटक डिपो सार्न अनुरोध गरिएको भूलले बताए। बजेटको अभाव र जग्गाको अभाव देखाउँदै निगम पन्छिदै आएको छ।
यो ठाउँबाट डिपो उठाउनुको विकल्प नभएको डिपो प्रमुख इन्जिनियर यादव भन्छन्। ‘विमानस्थलको धावनमार्गको यत्ति नजिक, मुख्य राजमार्गमा यस्तो डिपो कुनै हिसाबले पनि सुरक्षित हुन सक्दैन। शुक्रबारको प्रदर्शन र त्यसबाट भएको क्षतिबाट सरकारले पाठ सिक्नुपर्छ। यो ठूलो चुनौतीको विषय छ,’ यादवले भने।
हवाई इन्धन डिपो प्रक्रिया अघि बढ्दै, डीपीआर २ महिनामा
गत साउनमा सरकारको निर्देशनपछि सिनामंगल डिपो सार्ने प्रक्रिया अघि बढाइएको छ। विमानस्थल धावनमार्ग उत्तर–पश्चिमतर्फ नेपाली सेनाको गल्फ कोर्ष नजिकै गुह्येश्वरीमा प्राधिकरणले ५० रोपनी जग्गा उपलब्ध गराएको छ। प्राधिकरणको तर्फबाट आयल निगमलाई उपलब्ध गराउने जग्गा दिइसकेको सूचना अधिकारी भूलले जानकारी दिए।
डिपो सार्न दिएको क्षेत्र हाल भएको रनवेको उत्तर र पश्चिम कुना गुह्येश्वरीमा पर्छ, जुन रनवेबाट ५ सयमिटर टाढा छ। उक्त आयोजनको सुरुको अनुमानित लागत करिब ६ अर्ब भनिएको छ।
उक्त आयोजनाका लागि प्राधिकरणले विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई दिइएको छ। गत मंसिरमा पुल्चोक इन्जिनियरिङसँग ५ महिनामा डीपीआर तयार गर्ने सम्झौताअनुसार अध्ययन भइरहेको छ।
डीपीआर तयार हुन अझै करिब २ महिना लाग्ने यादवले बताए। हाल प्रस्तावित गुह्येश्वरी तर्फको जग्गामा निर्माण हुने डिपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डारण ट्यांक रहनेछन्। अत्याधुनिक प्रविधिसहितको उक्त नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन दुई संस्थाबीच १ करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँ ७३ पैसामा सम्झौता भएको हो।
यता, प्राधिकरणले निगमलाई भाडामा दिने भनेको जग्गामा दुवै पक्षबीच सम्झौता हुन सकेको छैन। प्राधिकरणले पशुपति क्षेत्र विकास कोषसँग करिब ८० वर्षका लागि लिजमा लिएको जग्गा मध्येबाट हवाई इन्धन डिपो सार्नका लागि ५० रोपनी जग्गा भाडामा उपलब्ध गराउन लागेको हो। तर, सरकारी नियमअनुसार सम्झौता भएको दिनबाट नै निगमले प्राधिकरणलाई भाडा बुझाउनुपर्ने हुन्छ। यसमा दुवै पक्षबीच कुरा नमिल्दा सम्झौता हुन नसकेको सिनामंगल डिपो प्रमुख यादवले जानकारी दिए।
‘नियमअनुसार सम्झौता गर्ने बित्तिकै भाडा तिर्नुपर्ने हुन्छ। हामीले डिपो बनेर सञ्चालनमा नआएसम्म भाडा नतिर्ने भनेका छौं। हामीले भनेअनुसार प्रक्रिया अघि बढाउन प्राधिकरणले उक्त प्रस्ताव बोर्डमा पठायो। बोर्डबाट स्वीकृत भइसकेको छ,’ यादवले भने, ‘अबको दुई हप्तामा जग्गा प्राप्तिसम्बन्धी प्राधिकरणसँग सम्झौता हुन्छ।’ स्थानान्तरण गरिने डिपो बनाउन ३ वर्ष लाग्ने अनुमान निगमको छ। सम्झौता भइनसकेको पनि तत्काललाई काम गर्ने गरी प्राधिकरणले तोकिएको ठाउँ निगमलाई जिम्मा लगाइयो भनेर लिखित रूपमा पत्र भने दिइसकेको छ।
‘अस्तिको आन्दोलनमा झन्डै आगलागी भएन। यो प्रक्रिया अघि बढ्न यो संस्थाले मात्र चाहेर हुँदैन विभागीय मन्त्रीदेखि निगम नेतृत्व पनि लाग्नुपर्छ। नभए आज भोलिभन्दा समय जान्छ,’ यादवले भने। सरकारले डिपो सार्ने विषयलाई प्राथमिकतामा राखेको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले बताए।
आगामी बजेटमा यसका लागि रकम छुट्ट्याउन मन्त्रालयले पहल गर्ने कार्कीले अन्नपूर्णलाई जानकारी दिए। प्राधिकरण र निगमले यो आयोजनालाई समन्वय र सहकार्यमा अघि बढाइरहेको सचिव कार्कीले बताए। शुक्रबारको भएको प्रदर्शनीमा आधा दर्जन स्थानमा आगजानी भए पनि अनगिन्ती स्थानमा तोडफोड भए।
डेढ घन्टा एयरपोर्ट बन्द
आन्दोलनका नाममा तीनकुने, सिनामंगल तथा एयरपोर्टसम्म भएको अराजक स्थितिले शुक्रबार १ घन्टा २४ मिनेट त विमानस्थल पूर्णरूपमा बन्द गरियो। दिउँसो ४ बजेर १३ मिनेटदेखि साढे ५ बजेसम्म विमानस्थल बन्द गरिएको भूलले बताए।
तीनकुने क्षेत्रमा फालिएको अश्रुग्यास तथा आगलागीले भिजिबिलिटी कम हुँदा उडान र अवतरण बन्द गरिएको उनले भने। विमानस्थल बन्द हुँदा केही आन्तरिक उडान डाइभर्ट भएको र अन्तर्राष्ट्रिय केही जहाजहरू होल्डमा राखिएका थिए।