नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जादै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड जादैछन् ।  प्रधानमन्त्री ओली थाइल्याण्डको बैंककमा हुने बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

थाइल्याण्डले चैत २० देखि २२ गतेसम्म बिमस्टेक सम्मेलन आयोजना गर्दैछ । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत म्यान्मार, श्रीलंका र थाइल्याण्ड सदस्य देश रहेका छन् ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री पैटोङटार्न सिनावात्राको हार्दिक निमन्त्रणामा चैत्र १९ देखि २३ @सम्म थाइल्याण्ड अधिराज्यको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।  

भ्रमणको क्रममा, प्रधानमन्त्रीले थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रासँग औपचारिक वार्ता गर्ने र दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न क्षेत्रहरूमा छलफल गर्ने भएका छन् ।

औपचारिक द्विपक्षीय भेटघाट पछि, प्रधानमन्त्री ओलीले अप्रिल ४ मा बैंककमा थाइल्याण्ड सरकारले आयोजना गर्ने छैटौं बहु-क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् र सोही दिन शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्रीले शिखर सम्मेलनको अन्त्यतिर बिमस्टेक सदस्य राष्ट्रका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री ओलीसँगै उनकी श्रीमती श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चपदस्थ सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू पनि थाइल्याण्ड जादै छन् ।
प्रधानमन्त्री ओली चैत्र २३ गते शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति