नेभिगेशन
मनोरञ्जन

कस्तो संयोग हो कि? फिल्म 'लाज शरणम'का कुपोषित बालकको मृत्युको असामान्य कारण

काठमाडौं– त्यो फिल्मको कथा थियो, यो वास्तविक कथा हो। फिल्म लाज शरणमले कुपोषित देखाएको बालकको यथार्थमा ‘कुपोषण’का कारण नै मृत्यु भएको छ।  

महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको पुष्टि भयो। 

१६ बर्ष लाग्न नपाउँदै केसीको पोषण नपुग्दा मृत्यु भयो। 

उनी वि.सं. २०६६ साउन १ मा जन्मिएका थिए। 

फिल्ममा कुपोषित बालककै चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित बालक र कर्णाली क्षेत्रका बासिन्दा थिए। उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रिन सिटी अस्पताल, काठमाडौं ल्याइएको थियो।

अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै फर्काइएको थियो। फिल्म टोलीले सुटिङका क्रममा उनको स्याहार, खानेकुरा, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो।

यस फिल्मका अभिनयकर्ता र निर्माता समेत रहेका अर्जुन घिमिरे यसो लेख्छन्। 

कुपोषणबाट नेपालमा अझै पनि बालबालिकाले मृत्युवरण गरिरहेका छन् ः विकास के. सी. प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । 

चलचित्र ‘लाज शरणम्’ को कथामा कुपोषित बालकको पात्रका रुपमा चित्रण हुनुभएका विकास के. सी. वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित हुनुहुन्थ्यो। 
 

मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ। 
 

हामीले उहाँहरुसँग उपचार र परिवारलाई सहयोगको प्रतिवद्धता गरेका थियौँ। जसअनुसार सुटिङ्पछि तत्काल उहाँको उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइयो। ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर ग¥यो। 

कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको थियो। सुटिङ् समयमा उहाँको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोवाइल उपलब्ध गराएका थियौँ। चलचित्रसँग उहाँलाई भेट गराउने, उपचारका लागि ल्याउने लैजानेसहित पारिवारिक दायित्व निर्वाह गर्ने गीतकार संगीतकार वसन्त उदासको सहजीकरणका कारण विकासलाई हामीले केही सहयोग गर्न पायौँ। तर, कसैको नजरमा नपरेका कति बालबालिका दुखद मृत्युवरण गरिरहेका होलान्। कल्पना गर्न सकिन्छ। 

हामीले यसो भन्नुको कारण सहयोग र संवेदनशीलता देखाउन खोजेका होइनौँ। तर, कर्णालीको कष्टकर जनजीवनको वास्तविक कथासँग सम्बन्धित आवश्यकताका विषयमा सम्बद्धको ध्यान जान सकोस् भनेर ध्यानाकर्षण गराउन खोजेका हौँ। 

वि. सं. २०६६ साल साउन १ गते जन्मनुभएका के. सी. रिभियस कुपोषणकै कारण २०८१ चैत १९ गते परलोक हुनुभयो। उहाँको देहवसानको खवरले चलचित्र परिवार स्तब्ध भएको छ। 

यो दुःखको घडीमा स्वर्गीय के. सी. को आत्माको सायुज्य मुक्तिको प्रार्थाना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ। परलोक गमन गर्नुभएका के. सी. चलचित्र क्षेत्रको इतिहासमा अमिट नाम बनेर रहनुहुनेछ। 

बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो । यसमा पनि पोषिलो खानेकुरा र सुक्ष्म पोषक तत्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नु पर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो। 

यसप्रकारको खवर कहिल्यै कसैले लेख्न नपरोस्। कसैलाई सुनाउनु नपरोस्। यस घटनाप्रति सरकारसहित सम्बद्ध पक्षको ध्यानाकर्षण हुन सकोस् भन्ने अपेक्षा गर्दछौँ। 

कर्णालीको विद्यमान दुःखलाई चलचित्रको पर्दामा उतार्न अन्तरमनबाट सहयोग गर्नुहुने कर्णालीबासी, विकास के. सी. बसोबास गर्नुहुने. गाउँका सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा विकासको परिवारप्रति हामी नतमस्तक छौँ। रहिरहनेछौँ। यहाको आर्थिक, सामाजिक अवस्था सुधार गर्न कलाका माध्यमबाट आवाज उठाइरहनेछौँ। 
नेपालबाट कुपोषण हटाउन कला क्षेत्रबाट हामीले पूरा गर्नुपर्ने दायित्व सदैव निर्वाह गरिरहनेछौँ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन