काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै मात्र दिएको एउटा अन्तरवार्ताका क्रममा विदेशीसँगको सम्बन्ध ०५७ सालदेखि स्थापित हुन थालेको बताए।
०५२ सालमा नै युद्धको शंखघोष गरी राजनीतिमा नयाँ युगको सुरुआत गरिएको बताएका उनले त्यसबेलासम्म माओवादीलाई राजनीतिक शक्तिका रुपमा नभई विदेशीले आतंकवादी संगठनका रुपमा लिएको पनि चित्रण गरे।
‘विदेशीसँग त विल्कुल सम्बन्ध थिएन। ०५७ सालमा माओवादीले नै हामी राजनीतिक शक्ति हौं भनेर तीन ठाउँमा पत्राचार गरियो’, प्रचण्ड भन्छन्,‘पहिलो त राष्ट्र संघको कार्यालय, दोस्रो भारतमा र तेस्रो चीनलाई पठाइएको थियो।’
माओवादी राजनीतिक शक्ति रहेको भनी चित्रणसहित पत्र पठाउँदा भारतमा अटल बिहारी बाजपेयी प्रधानमन्त्री रहेको प्रचण्डले अन्तरवार्ताका क्रममा खुलाएका छन्।
यति मात्र होइन माओवादीले जनयुद्धमा हतियार र पैसा संकलनको काम विदेशीबाट नगरेको बताएका प्रचण्ड भन्छन्,‘होलेरी आक्रमणपछिका फौजी कारबाहीका चरणमा तीन ट्रक हतियार कब्जामा लियौं, खर्चका लागि बैंक लुटिन्थ्यो।’
प्रचण्डले भनेको चर्चित होलेरी काण्ड के हो?
२०५८ असार २८ गते तत्कालिन नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेको थियो। नेपाल बन्द आह्वान गरेपछि माओवादीले बन्द सफल पार्न सैन्य आक्रमण पनि बढाउने गथ्र्यो। यो त्यहि हमला थियो जसले नेपालको राजनीतिमा हलचल नै ल्याइदियो।
माओवादीको राजनीतिक फौजी जीवनमा यो यस्तो हमला बन्यो जसले तत्कालिन प्रधानमन्त्रीको कुर्सी नै हल्लाईदियो। रोल्पाको होलेरी आक्रमण। यो प्रकरणकै कारणले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए।
प्रधानमन्त्री भन्दा पहिले गृहमन्त्री रामचन्द्र पौडेलले राजीनामा दिए। माओवादी र तत्कालिन शाही सेना पहिलो पटक आमने सामने भए। फायर नखोले पनि सेना र माओवादीको त्यो पहिलो भेट थियो। यही घटनाले माओवादीलाई सेनासँग लड्न सकिन्छ भन्ने मनोवल भरिदियो।
होलेरी प्रकरण नेपाली राजनीति र माओवादी जीवनमा एउटा ‘टर्निङ प्वाइन्ट’ थियो। यही घटनापछि राजा ज्ञानेन्द्रले शक्ति हातमा लिने रणनीतिमा लागे भन्दा फरक पर्दैन।
होलेरी आक्रमण आकस्मिकतामा भएको त्यतिबेलाका माओवादी सैन्य कमाण्डरहरु बताउँछन्। असार २८ गतेको नेपाल बन्दलाई सफल बनाउनको लागि माओवादीले सुरक्षा क्याम्पहरुको रेकी गरिरहेको थियो। त्यो मध्ये दाङको सशस्त्र तालिम केन्द्र भालुवाङ छानिएको थियो। तर रेकी पुरा भइसके पनि योजना एक्सपोज भएपछि माओवादीले यसलाई परिवर्तन गर्नुपरेको थियो।
अन्तिम अवस्थामा योजना सार्वजनिक भएपछि तनावमा रहेका माओवादी सेनाका कमाण्डरहरुले आक्रमणलाई आधार क्षेत्रमा लैजाने निर्णय गरे। कमाण्डरहरु थिए नन्दकिशोर पुन र वर्षमान पुन।
उनीहरुले योजनालाई रोल्पा केन्द्रीत गरे। दुवै जना रोल्पाकै बासिन्दा भएकाले भूगोलले योजना बनाउन उनीहरुलाई सहज थियो। यसैले रोजाईमा रोल्पाको होलेरी परेको थियो।
होलेरी प्रहरी चौकीमाथि जनयुद्धको सुरुवाती दिनमै पनि माओवादीले आक्रमण गरिसकेको थियो। सरकारले प्रहरीको संख्या बढाएर त्यहाँ राखेको थियो।
विहानपख क्याम्पमा प्रहरीहरु आए पछि माओवादीले माइकिङ गरेर प्रहरीलाई आत्मसमर्पण गर्न भने पनि प्रहरीले पहिलो फायर खोल्यो।
केहीबेरको भिडन्तपछि माओवादीले ७२ जना प्रहरीलाई आफ्नो नियन्त्रणमा लियो। लडाईमा १ जना प्रहरीले ज्यान गुमाए। विहान ६ बजे होलेरीबाट रिट्रिट (फर्किएको) थियो।
माओवादीले नियन्त्रण लिएका प्रहरीलाई मुक्त गर्न तत्कालिन शाही सेना परिचालन भएको यो पहिलो घटना थियो। होलेरी आक्रमणको भोलीपल्ट सेनाका तीन वटा हेलीकप्टर रोल्पाको नुवागाउँ पुगे। त्यतिबेला सरकारले ४ नम्बर बाहिनी सुर्खेतलाई रेस्क्यू योजना बनाउन निर्देशन दिएको थियो।
सुरुमा सेना आयो भन्ने विश्वास नै नभएको पुनले उल्लेख गरेका छन्। सेना माओवादी भएको ठाउँ नजिकै झरेपछि कब्जामा रहेका प्रहरीलाई त्यहाँबाट अन्यत्र हिँडाएर आफुहरुले पोजिसन लिएको थियो।
सेनाको हेलिकप्टरलाई माओवादीले आक्रमण गर्न थालेपछि एउटा हेली रोल्पाको बुढागाउँमा इमर्जेन्सी अवतरण गरिएको थियो। तत्कालिन सैनिक सचिव विवेक कुमार शाहले पनि आफ्नो पुस्तकमा माओवादीले चलाएको गोली लागि दुई हेलिकप्टर ग्राउन्डेड भएको लेखेका छन्।
नुवागाउँमा माओवादीले सेनालाई पत्र पठायो। पत्रको भाषा यस्तो थियो, ‘तिमीहरुलाई आक्रमण गर्ने तत्काल हाम्रो योजना छैन, तिमीहरु किन आयौ? लड्नै आएको भए लड्न बाध्य हुनेछौं। तिमीहरु पूरै हाम्रो घेरामा छौ। तिमीहरु उम्कने चान्स छैन।’
त्यो पत्र माओवादीका एक कार्यकर्ताले सेनालाई लगेर दिएको थियो।
तर उक्त पत्रको जवाफ नदिएर झनै हेलिकप्टर घुमाएपछि हेलीमाथिको आक्रमणलाई बढाएपछि सेनाले पत्रको जवाफ पाएको बताइन्छ।
यो प्रकरणलाई प्रचण्डले अन्तरवार्ताका क्रममा स्मरण समेत गरेका छन्। सेनाको पत्रमा आफुहरु लड्न नभई ट्रेनिङको लागि आएको उल्लेख थियो।
त्यसपछि माओवादी सेनाका दुई जना र शाही सेनाका दुई जनाबीच वार्ता भएको थियो। वार्ता अनुसार माओवादीले सेनाको बाटो छोडिदिने र सेना फर्कने सहमति भएको थियो।
होलेरीमा सेना सफल हुन नसकेको तत्कालिन सैनिक सचिव शाहले आफ्नो किताब ‘मैले देखेको दरवारमा’ स्वीकार गरेका छन्। राम्रोसँग योजना नबनाउनु, हतारमा योजना बनाउनु र स्थानीय सैनिक कमाण्डरसँग जंगी अड्डाको समन्वय नहुनु जस्ता कारण शाहले औंल्याएका छन्।
यो घटनाले माओवादीलाई चर्चाको शिखर दियो जसलाई प्रचण्डले स्मरण गरेका छन्।
अर्कोतर्फ सेना र सरकारबीच द्वन्द्वसमेत बढायो। यसको प्रत्यक्ष फाइदा माओवादीले उठाए। सेनासँगको आमनेसामने भएको माओवादीको पहिलो अनुभव थियो। होलेरीमा सेना नलडेपछि माओवादीको मनोवल बढेको थियो। होलेरीमा सेना ब्याक भएपछि गिरिजाप्रसाद कोइराला पनि ब्याक हुनुपर्यो। यो घटनाले सेना र निर्वाचित सरकारबीच दुरी बढाइदियो।
यही घटना पछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादीलाई पहिलो पटक शान्ति वार्तामा ल्यायो। यो घटनाले ७२ जना प्रहरीलाई एक साथ नियन्त्रणमा लिँदा पनि कारबाहीको लागि पठाएको सेना आफ्नोविरुद्ध नलडेपछि माओवादीले यसलाई कमजोरीको रुपमा लिँदै सेनाकाविरुद्ध युद्धको योजना बनाउन थाल्यो।
फलस्वरुप वार्ता भंग भएपछि दाङ लगायतका ठाउँमा सेनाका व्यारेकमाथि माओवादीले पहिलो फायर खोल्यो।
सेनासँग लड्ने हिम्मत होलेरीबाटै आएको माओवादी सेनाका तत्कालिन कमाण्डर पुनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
सेनामाथि आक्रमण गर्दै युद्धविराम भंग गरेपछि देशमा संकटकाल घोषण गर्दै सेना परिचालन भयो भने विस्तारै राजा ज्ञानेन्द्रले आफूलाई सक्रिय बनाउन थाले। होलेरी घटनालाई इतिहासमा माओवादी र राजा ज्ञानेन्द्रले आफ्नो पक्षमा प्रयोग गरे।
चर्चित होलेरी प्रकरणले माओवादीलाई नयाँ उचाई दियो भने राजा ज्ञानेन्द्रलाई पनि आफ्नो स्वार्थपूर्ति गर्ने ठाउँ बनाइदियो।