नेभिगेशन
समाज विविध

कुलमानको नयाँ यात्रा ‘राजनीति’

घिसिङलाई आगामी चुनावको मुखौटा बनाउनेगरी माओवादीले लविङ गरिरहेको छ, यसबाहेक रास्वपाले पनि अभ्यास गर्ने सम्भावना छ। तर, कुलमान आफैंले दल खोल्ने सम्भावना कति छ?

काठमाडौं– नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति राजनीतिक प्रत्युत्पादक पात्र बन्ने लयमा भेटिएका छन् नेपाल विद्युत प्राधिकरणको कार्यकारी पदबाट बर्खास्तमा परेका कुलमान घिसिङ।

उनले नयाँ यात्राका निम्ति राजनीतिलाई रोज्ने लगभग निश्चित भएको छ। 

कुलमान घिसिङले भविष्यमा राजनीतिमा आउन सक्ने सम्भावनाबारे सकारात्मक संकेत गरेका छन्। 

शुक्रबार राखेको पत्रकार सम्मेलनका क्रममा कुलमानले यस्तो संकेत गरे, पत्रकारको प्रश्नमा। हुन त केही दिनअघिको एउटा अन्तरवार्ताका क्रममा पनि कुलमानले यस प्रकारको संकेत गरेका थिए।  

‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता छ?’ 

यसमा कुलमानको कुटनीतिक जवाफ थियो– मैले अघि वक्तव्यमा पनि भनेको छु। म एउटा जिम्मेवार नागरिक हो। अब तपाईंहरुजस्तै नागरिक भएँ, कर्मचारी रहिनँ। एउटा जिम्मेवार नागरिक भएर म सदैव देशको हितको लागि, समृद्धिका लागि, कुनै पनि जिम्मेवारी लिन तयार छु।

कुलमानले गरेको यो संकेतले तीन वटा प्रसङ्गलाई बल पुगेको छ।

पहिलो त उनी राजनीतिमा आउने, दोस्रो कांग्रेस र एमालेको राजनीति नगर्ने र तेस्रो माओवादी या राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जाने कि आफ्नै दल खोल्ने। 

यत्तिचाहिँ स्पष्ट भन्न सकिन्छ कि कुलमानले हाल दल दताृ गर्ने छैनन्। कुलमान सन्निकटहरुका अनुसार उनको पहिलो रोजाई नेकपा माओवादी केन्द्र बन्न सक्छ। र, दोस्रोमा रास्वपा रहन सक्ने सम्भावना छ।

‘उहाँले स्वतन्त्र उम्मेदवारी दिने सम्भावना पनि हुनेछ। तर, राजनीतिमा छिर्ने पक्कापक्की हो’, स्रोतले भन्यो,‘उहाँको राजनीति रामेछापबाट या काठमाडौंबाट सुरु हुन सक्छ।’

लोडसेडिङ हटाउने र नागरिकलाई राहत प्रदान गरेको ‘जस’ पाएका उनको प्रभाव काठमाडौंमा राम्रो हुने आँकलन गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

जहाँ देवीलाई चढाइन्छ दाम्लो