नेभिगेशन
विश्व

ट्रम्पले टिकटकलाई दिए थप ७५ दिनको समय

काठमाडौँ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन् । अब टिकटकले बिक्री नगरी अमेरिकामा रहनको लागि थप ७५ दिनको समय पाएको छ ।

अमेरिकामा सेवाहरू कायम राख्न, यो एप बेच्न अमेरिकाले कानुन बनाइसकेको छ नत्र यो अमेरिकामा प्रतिबन्धित हुनेछ । ट्रम्पले यो एप बन्द हुन नदिने बताउदै थप ७५ दिनको समय दिएका छन् । यसअघि उनले टिकटकको बिक्रीमा सम्झौता भएमा चिनियाँ आयातमा लगाइएको भन्सारमा केही छुट दिन सक्ने बताएका थिए ।

अमेरिकामा धेरै संख्यामा टिकटक प्रयोगकर्ताहरू यसलाई प्रतिबन्ध लगाउने विरुद्धमा छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, यस हप्ता ट्रम्पको कर घोषणापछि, चीनले अमेरिकामा टिकटकको बिक्रीलाई अनुमति नदिने संकेत गरेको छ । अमेरिकी सिनेटमा ट्रम्पको विरोध गर्ने डेमोक्र्याटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिले करको मुद्दाबाट ध्यान हटाउन मात्र खोजिरहेको बताएका छन् । आलोचकहरूले प्रायः टिकटकलाई अत्यधिक डेटा सङ्कलन गरेको आरोप लगाउँछन् ।

अष्ट्रेलियाली साइबर कम्पनी इन्टरनेट २.० का अनुसन्धानकर्ताहरूले जुलाई २०२२ मा एक रिपोर्ट प्रकाशित गरे, जसलाई प्रायः टिकटकविरुद्ध डेटा सङ्कलनको आरोपको प्रमाणको रूपमा उद्धृत गरिन्छ ।


ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २०२० को कार्यकारी आदेशमा आरोप लगाएका थिए । उनले त्यति बेला टिकटकको डेटा सङ्कलनले चीनलाई सरकारी कर्मचारी र सम्पर्कमा आएकाहरूको स्थान ट्र्याक गर्न, ब्ल्याकमेलिङको लागि उनीहरूको व्यक्तिगत जानकारी प्रयोग गर्न र जासुसी गर्न मद्दत गर्न सक्ने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व