नेभिगेशन
राजनीति

ओली–मोदी ‘वान टु वान’ : ‘नोट टेकरसमेत नभएको भेटवार्ता अवसर र घातक हुन सक्छ’

काठमाडौं– बिम्स्टेक सम्मेलनको अवसर पारी प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकक्षी नरेन्द्र मोदीबीचको वान टु वान वार्ताका विषयमा निक्कै चर्चा भयो।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा मोदीलाई निम्तो दिएको तर उनको युरोप जाने कार्यक्रम रहेका कारण सहभागी हुने सम्भावना नभएको शनिबार स्वदेश फिर्तापछि विमानस्थलमा बताएका थिए। 

वान टु वान वार्तामा के कुराकानी भए प्रष्ट खुलेका छैनन्। यस्ता भेटका अर्थ र सम्भावना के हुन सक्छन् भन्ने विषयमा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले टिप्पणी गरेका छन्।

उनी भन्छन्,‘यस्ता भेटवार्तालाई कूटनीतिमा सकारात्मक नै मानिन्छ । तर, भेटवार्तामा के कुरा भयो भन्ने प्रस्ट छैन। हामीकहाँ त्यस्तो भेटघाटका विषय खुलस्त गर्ने अभ्यास नै छैन। दुवै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी गरे पनि यसको प्रभाव यस्तै हुन्छ भन्न सकिन्न। भेटवार्तामा भएका कुराकानीलाई कार्यान्वयन तहमा पनि लगियो भने मात्र त्यसको अर्थ हुन्छ। भेटमा अन्य कसैलाई नराखी गरिएको संवादले परिणाम देला भनेर आशावादी हुन कठिन छ। ‘नोट टेकर’लाई समेत नराखी गरिएको यस्तो भेटघाट अवसर र घातक दुवै बन्न सक्छ।' 

उनले अगाडि भनेका छन्,‘कूटनीतिमा यस्तो भेटघाटपछि ‘आइस बे्रक’ भएको, सम्बन्ध सुधार भएको जस्ता हल्ला गरिन्छन्। तर, त्यस्तो सुधार परिणाममा नै देखिनुपर्छ। सामाजिक सञ्जालमा लेखेर मात्र त कसरी आइस ब्रेक होला र? अहिले पनि पनि नेपालका प्रधानमन्त्रीले हिन्दी भाषामा र भारतका प्रधानमन्त्रीले नेपाली भाषामा सामाजिक सञ्जालमा गरेको टिप्पणीकै भरमा केही भन्न सकिन्न।’

उपाध्याय भारतले नेपालमा नाकाबन्दी लगाएका बेला राजदूत रहेका थिए। ओली प्रधानमन्त्री भएपछि उपाध्यायलाई तानेर भारतका लागि नेपालका राजदूतमा निलाम्बर आचार्यलाई पठाइएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति