नेभिगेशन
समाज विविध

शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई कोइरालाको सुझाव

काठमाडौँ- विद्यालय शिक्षा ऐन जारी गर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू अहिले सडक आन्दोलनमा छन्। आन्दोलन चर्किँदै जाँदा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र शिक्षकबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

कोइरालाले एक सार्वजनिक अपिल जारी गर्दै शिक्षकको समस्या समाधान गर्दै नियमित पठनपाठनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्। “सरकार र महासंघबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्ने आवश्यकता छ,” उनले उल्लेख गरेका छन्।

उनले विद्यालय शिक्षक र कर्मचारीलाई नियमित काममा फर्काउने वातावरण तयार पार्न पनि सरकारसँग अनुरोध गरेका छन्।

“शिक्षक कर्मचारीका जायज मागको सम्मान गर्दै शिक्षा क्षेत्रमा उत्पन्न समस्या हल गर्न जिम्मेवार भूमिका खेल्न सरकार तयार हुनुपर्छ,” कोइरालाले भनेका छन्।

सरकार र नेपाल शिक्षक महासंघबीच विभिन्न चरणमा भएको वार्तामा विद्यालय शिक्षा ऐन ल्याउने, समायोजन, बढुवा, स्थायी नियुक्ति, सेवा सुविधा लगायत विषयमा सहमति भए पनि कार्यान्वयन नभएको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

अहिले देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित भइरहेको अवस्थामा कोइरालाले राजनीतिक तहबाट पनि पहल जरुरी भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध