नेभिगेशन
राजनीति

जनता स्कुलमा ‘हिङ’ बोकेर पुगेका थिए प्रचण्ड!

काठमाडौं– ‘ए! आज चुनावी प्रचारमा माओवादीका अध्यक्ष प्रचण्ड इटहरी आउँदैछन्, रिपोर्टिङमा आउनुस् है’, भर्खर भर्खरै चिनजान भएका शिव डाँगीले निम्तो दिए।

माओवादीको गणतन्त्र एफएमका एक परिकल्पनाकार मध्यका उनी पत्रकारमाझ परिचित थिए। 

उसो त निम्तो उनको मात्र थिएन। भर्खरै परिचय भएका सागर सुवेदी, सुनसरी वाईसीएलका अध्यक्ष रहेका सन्तोष थारु विश्वको पनि थियो।

सागरजीसँग पछिल्लो पटक बिराटनगरमा भेट भएको थियो। उनी अहिले कानुनी अध्ययनदेखि कर्ममा लागेका रहेछन्। राजनीतिमा भने उनले माओवादी कित्ता छाडेर एमालेलाई रोजिसकेका रहेछन्। 

यी विषयका किस्सा अलग छन्। 

शिव डाँगीसँग पनि पछिल्लो समय इटहरीमा भेट भएको थियो। उनी माओवादीका कोशी प्रदेश उपाध्यक्ष छन्। अन्य जिम्मेवारीमा भने कृषि कर्ममा जुटेका छन्।

विश्व उति बेलै संविधान सभाको सदस्य बनिसकेका कान्छा पात्र हुन्। उनीसँगचाहिँ लामो समय भयो, भेट नभएको।

०६४ को संविधान सभाको निर्वाचनअघिको परिचय थियो यो। भर्खरै लोकतान्त्रिक आन्दोलन सफल भएको थियो। त्यसको खुशीमा नगरपालिकाले होटल लालीमामा भोजै गरेको पनि थियो। त्यस निम्तो पनि भ्याएको मानिस र पत्रकारितामा अलिक जोश नै भएकाले उत्सुकता पनि कम थिएन।

लोकतन्त्र भनेको त जे पनि गर्न पाइन्छ। निजी शासन नै आएको भन्ने भाष्य बनिरहेको थियो। 

त्यहाँमाथि युद्धका समाचार लेखेको, त्यसका पनि कमान्डर देख्दा कत्ति न ठूलो समाचार बनाइहाल्ने बानी। त्यहाँमाथि सुप्रिम कमान्डर नै आउने भएपछि रिपोर्टिङमा नजाने कुरै थिएन।

विभिन्न ठाउँबाट माओवादीका कार्यकर्ता आउने क्रम जारी थिए। कम्मरमा भर्खरै किनेको ११० मोडलको मोबाइल लड्काएर कार्ड घाँटीमा झुन्ड्याएर प्रेस लेखेको पहेंलो ज्याकेट लाउँदा चुरीफूरी बलियो नै हुन्थ्यो। 

यत्तिबेला हाँस उठेर आउँछ...आखिर किशोरवय त्यस्तै नै हो नि।

प्रचण्ड इटहरीमा आउँदैछन्, बिराटनगर पुग्न लागे भन्ने गाईँगुईँ चलेकै थियो।

कार्यक्रमस्थलतिर पुगियो।   

झरिलो अनुहार, उद्वेलित अनुहार, हृष्ठपुष्ठ व्यक्तित्व मात्र होइन एक हिसाबले त पट्ठो पनि देखिन्थे, प्रचण्ड। 

चुनावी राप तापको ठूलो चहलपहल थियो। अनि प्रचार सभा। क्रान्तिकारी नेता चुनावमा भाग लिन आएको त्यो पनि भाषण नै गर्न आएपछि समाचार संकलनमा अब्बल रहेको रिपोर्टर नपुग्ने कुरै भएन।

इटहरीको सानो जनता स्कुलको ग्राउन्डमा माओवादीको सभा। त्यो ग्राउन्डको विशेषता पनि छ। जब कुनै राजनीतिक मञ्च या भेला हुँदा त्यहिँ हुने गर्दथ्यो। ठूलो सभाचाहिँ लोकतान्त्रिक आन्दोलनअघि कृष्णप्रसाद सिटौलाको सभामा पुगिएको थियो। 

प्रचण्डतिर नै फर्कौं। 

अन्य झिना मसिना नेता बोलेको समाचारले स्पेश पाउने थिएन। पर्खाई त प्रचण्डको भाषणको नै थियो। मेरो स्मृतिमा छ, प्रचण्डले त्यहिँको सभामा एमालेविरुद्ध पहिलो भाषण गरेका थिए। 

उनले भनेका थिए,‘कम्युनिस्टका नाममा एमाले भनेको हिङ बाँधेको टालो थियो। माओवादी पूरै हिङ नै आएपछि टालोको काम छैन। हामी हिङ हौं कम्युनिस्टका हिङ। मने, बुझ्नुभयो नि आदरणीय जनसमुदाय।’

विशाल संख्यामा उपस्थित भएका माओवादी कार्यकर्ता, झुम्रेदेखि चिल्लासम्म मज्जाले हौसिए। 

उनले त्यहिँ अर्को राजनीतिक स्लगलाई पनि स्थापित गरेका थिए। प्रचण्डले भनेका थिए,‘हामी क्रान्तिबाट देश बनाउन आएका हौं, कथित सुकिल मुकिलाविरुद्ध हामीले ब्यालेटबाट सदन कब्जा गर्नुपर्छ। यहाँहरूको साथ हुनेछ।’

यत्तिबेला न त्यो किशोरबयको पत्रकारको चुरीफूरी नै ठूलो छ न ति प्रचण्डको हाँक नै बलियो। अहिले सोचिल्याउँद सबै सत्ताको गर्मीमा लाचार बन्ने रहेछन्। लेख्ने पत्रकारको विकास कलम बाट किबोर्डसम्म पुग्यो, टाइप गर्दा हात गल्दा रहेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति