नेभिगेशन
समाज विविध

दाउन्नेमा दैनिक ६ घण्टा बाटो बन्द, यस्तो छ तालिका

बुटवल - पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडक खण्डमा सडक विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ । चैत्र २७ गतेदेखि बैशाख १५ गतेसम्म बाटो बन्द गरिने भएको हो । 

पहिलो ५ दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र बाँकी १५ दिन राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो । यहाँ ३ लेनको सडक बन्ने छ । जसअन्तरगत चैत्र २७ गतेदेखि ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र बैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द हुनेछ ।  जसका लागि सडक विभागले सूचना जारी गरी ट्रक, टिप्पर लगायत हेब्बी सवारी साधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने छ । 

त्यसैगरी यात्रुवाहक बस, मिनी बस, जिप कार लगायतका सवारी साधनलाई पूर्वमा दुम्किबासमा र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने आज सडक विभागले जारी गरेको सूचनामा जनाइएको छ ।   जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कम्पनीले सडकमा गाडीको चाप हुँदा काम गर्न नपाएको भन्दै गुनासो गरेपछि पहिलो ५ दिने दैनिक ४ घण्टाको दरले सवारी आवागमन बन्द गरेर बाटाका खाल्टा खुल्टी पुर्ने र बाटो सम्याउनका लागि समय बताए ।

त्यसैगरी बैशाख गतेदेखि १५ गतेसम्म दैनिक राति ६ घण्टा पहाड काट्नका लागि समय दिने गरी निर्यण भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।  
ट्राफिक प्रहरी निरीक्षक बन्जाराका अनुसार चैत २७ देखि ३१ गतेसम्म पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बैशाख एक गतेदेखि १५ गतेसम्म राती ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने भएको हो ।

यस अघि निर्माण कम्पनीले दैनिक सवारी आवागमन बन्द गरेर काम गर्न माग गरेपनि निश्चित समय भित्र काम सक्ने प्रतिबद्धता नजनाएका कारण प्रशासनले सवारी आवागमन गराउने निर्णय लिन सकेको थिएन । तथापि अहिले पनि निर्माण कम्पनीले कुनै प्रतिबद्धता भने नजनाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

पछिल्लो समय दाउन्ने खण्डमा कामले तिब्रता पाए पनि यात्रुले निक्कै सास्ती पाएको र १४ किलोमिटरको दाउन्ने सडक खण्ड पार गर्न १० घण्टासम्म समय लाग्न थालेपछि दुबै जिल्लाका सरोकारवाला छलफलमा जुटेका हुन् । दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढंगले भन्दा पनि आफूलाई सजिलो हुने गरी काम गर्दा यात्रुले सास्ती पाएका छन् ।

दाउन्नेमा सडक विस्तार गरिने ३ लेनमा १ लेन बराबरको डाँडा काट्नु पर्ने पर्दछ । जसमध्य पूर्वी खण्डमा डाँडा काट्ने काम लगभग सकिएको र पश्चिम खण्डमा काट्न नपाएका कारण १५ दिनको समय माग गरिएको चाइना स्टेट कम्पनीका पूर्वी खण्डका कन्ट्र्याक म्यानेजर राकेश झाले बताए । उनका अनुसार आफूहरुले पश्चिम खण्डको डाँडा काट्न १ महिनाको समय माग गरिएको भए पनि पहिलो १५ दिनको काम हरेर मात्र पछि सवारी आवागमन गर्ने मिति थप गर्ने गरी निर्णय भएको हो ।   उनले उक्त १५ दिनेमा डाँडा काट्न, बाटो सम्याउने, डबाउन लगायतको काम गरिने बताए । उनले भने – दाउन्नेमा लामो जाम हुने गरेको छ । काम गर्ने अवस्था नै सिर्जना भएन त्यसैले सवारी आवागमन बन्द गरेर नै काम गर्नु पर्ने देखियो ।  

पश्चिम खण्डमा कटिङ्ग गर्नु पर्ने पूर्वी खण्डमा कटिङ्ग अगभग सकिएको छ । उनले बर्षा अगाडि हिड्नलाई सहज गराउने सकिने तर सडक पक्की ढलान वा पिच गर्ने काम बर्षा अगाडि सक्ने वा नसक्ने भन्ने अवस्था अहिले नै नरहेको बताए । उनका अनुसार पूर्व खण्डमा रहेका ३१ वटा साना ठूला कल्भर्डहरु मध्ये २३ वटाको काम सकिएको छ भने ठूला २ वटा र साना ६ वटा गरी ८ वटा कल्भर्टको काम बाँकी छ ।

उक्त कल्भर्डको काम नसकिएसम्म तत्काल बाटो पिच वा ढलानका काम अगाडि नबढ्ने उनले बताए । उनले भने – ‘६ वटा साना कल्भर्डको काम एक महिनामा सक्छौं, २ वटा ठूलो कल्भर्ड सक्न अहिले समय लाग्छ ।’
१४ किलोमिटर दाउन्ने सडक खण्ड मध्य पूर्वमा करिब ६ किलोमिटर सडक रहेको छ भने पश्चिममा करिब ९ किलोमिटर सडक रहेको छ । ति मध्ये पश्चिममा बर्दघाटबजारदेखि दाउन्नेको खुर्सानी खोलाको ३ किलोमिटर सडक कालो पत्रे भएको छ ।

पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले गाडीको चाप बढी भएकोले काम गर्न नसकिएको बताए । उनले भने मान्छे र उपकरण लगाएर काम गरेका छौं तर रिजल्ट आउने गरी काम गर्न सकिएको छैन ।  उनले १५ दिन भित्र जनशक्ति र उपकरण बढाएर काम गराएर भए पनि डाँडा कटानको काम सक्ने दावी गरे । पश्चिम खण्डमा रहेका ७२ वटा कल्भर्डहरु मध्ये ठूलो २ वटा र साना ३ वटा कल्भर्डको काम बाँकी रहेको उनले बताए ।

पानी पर्ना साथ पहिरो गई हाल्ने खाले दाउन्नेको संरचना भएको कारण पनि काम गर्न गाह्रो भएको उनले बताए । ६ घण्टामा धेरै काम निकाल्ने गरी काम गर्छौं ।उनले पश्चिम खण्डको ९ किलोमिटर मध्ये ७ किलोमिटर कालोपत्रे र ढलान सक्ने गरी काम अगाडि बढाउने दावी पनि गरे । भने बाँकी रहेको २ किलोमिटर सडक खाल्डाखुल्टी रहित बनाउने बताए ।

489825808_1037286861587691_510614051828777700_n-1743937009.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

लेक लागेर पर्यटकको मृत्यु