नेभिगेशन
समाज विविध

तीनकुने घटनामाथि न्यायिक छानबिन गर्न अधिकारकर्मीहरूको माग

काठमाडौँ- मानव अधिकारवादी संस्थाहरूले राजावादीहरूको प्रदर्शनका क्रममा १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

तीनकुने घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको विवरणहरू सार्वजनिक भएको भन्दै उनीहरूले त्यसमा गम्भीर चासो व्यक्त गरेका हुन् ।

घटनामा ५८ राउण्ड गोली चलेको, २० जनालाई गोली लागेको, गोलीकै कारण सविन महर्जनको ज्यान गएको, घाइतेमध्ये १३ जनाको उपचार भइरहेको विवरणमाथि उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

प्रहरीले तयार पारेको गोप्य प्रतिवेदन उदृत गर्दै सञ्चारमाध्यमहरूले करिव साढे ७ सय सेल अश्रुग्याँस प्रहार गरेको र १९८ राउन ब्ल्यांक राउण्ड फायर भएको विवरण सार्वजनिक भएको भन्दै उनीहरूले घातक हतियारहरूको प्रयोगमा समेत प्रश्न उठाएका हुन् ।

घटनामा ११० राउण्ड गोली चलाएको थियो भने दुई सय राउण्ड रवरको गोली चलेको थियो । त्यसबाहेक नेपाल प्रहरी र शसस्त्रले साढे ९ सय राउण्ड गोली चलाएका थिए । एसएलआर र इन्सासजस्ता घातक हतियारको समेत प्रयोग भएको औल्याउदै उनीहरूले प्रहरीको बल प्रयोगमाथि प्रश्न उठाएका हुन् ।

उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्यहरू हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग ‘आवश्यक’ र ‘समानुपातिक’ थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन ।’

जबाफदेहिता निगरानी समिति, एम्नेष्टी इन्टरनेशनल नेपाल, एड्भोकेसी फोरम नेपाल र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल)ले संयुक्त विज्ञप्तिमार्फत न्यायिक जाँचबुझको माग गरेका हुन् ।

‘बल प्रयोग, त्यसको दुष्परिणाम, साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सुरक्षाको आशा र भरोसाको केन्द्रमा रहेको प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको छ ।’

यस्ता घटनामा अत्यधिक बल प्रयोग गर्ने काममा संलग्नलाई जबाफदेही बनाउन बल प्रयोगसम्बन्धी कानून ल्याउन विगतदेखि सिफारिस भएपछि त्यसको कार्यान्वयन नभएकोमा उनीहरूले प्रश्न उठाएका छन् ।

चेक अफ कमाण्डमा कानूनसंगत अदोशबाट संगठन चल्नुपर्ने भए पनि दण्डहिताका कारण अत्यधिक बल प्रयोगको प्रवृति नतोडिएको भन्दै उनीहरूले पाथीभरा केवलकार विरुद्धको प्रदर्शन र बालकुमारी घटनामा देखिएका समस्या तीनकुनेमा पनि देखिएको औँल्याएको हो ।

उनीहरूले जाँचबुझ आयोगमार्फत घटनाको छानबिन , मानवीय क्षति, आगजनी र तोडफोडका घटनाको सत्यतथ्य छानबिन , बल प्रयोगमा संलग्नको पहिचान गरी जबाफदेहिता सुनिश्चित गर्न र कारवाहीको सिफारिस गर्न माग गरेका छन् ।

प्रदर्शनमा आगजनी, तोडफोड, लुटपाट र आगजनी लगायतका अपराधी क्रियाकलापमा संलग्नलाई कानून बमोजिम अभियोजन नै गर्नुपर्ने भन्दै उनीहरूले तर त्यही बाहनामा अरूलाई अनाहकमा नमुछ्न प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

‘यही घटनालाई बहाना बनाएर राजनीतिक आस्थाको आधारमा अस्वाभाविक रूपमा राज्यद्रोह वा संगठित अपराधको अभियोजनमा तान्ने कार्य किमार्थ जायज हुँदैन’ उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘अनुसन्धान र अभियोजनलाई राजनीतिक आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त राख्न पनि हामी माग गर्दछौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

लेक लागेर पर्यटकको मृत्यु