नेभिगेशन
समाज विविध

राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न रोक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिलाई काठमाडौँको भृकुटीमण्डपमा प्रस्तावित आमसभा आयोजना गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।

राप्रपाले चैत २६ गते प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आमसभा गर्ने योजना बनाएको थियो। तर, सोही स्थानमा शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चालगायतका पूर्वनिर्धारित कार्यक्रमहरू भइरहेकाले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रशासनले अनुमति अस्वीकार गरेको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राप्रपालाई पठाएको पत्रमा उक्त निर्णय जिल्ला सुरक्षा समितिको सिफारिसमा गरिएको उल्लेख छ। प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,’माग गरिएको स्थानमा हाल कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा सिफल चौर वा बल्खु क्षेत्रमा व्यवस्था मिलाउन अनुरोध छ’

राप्रपाले चैत २२ गते अपराह्न ४:२१ बजे इमेलमार्फत प्रशासनमा पत्र पठाएर भृकुटीमण्डपमा आमसभाको अनुमति मागेको थियो। तर, प्रशासनको यो निर्णयले पार्टीको योजना प्रभावित हुने देखिएको छ।

जिल्ला प्रशासन कार्यालयले वैकल्पिक स्थानमा कार्यक्रम गर्न सुझाए पनि राप्रपाले यसबारे कस्तो निर्णय लिन्छ भन्ने स्पष्ट भइसकेको छैन। यो घटनाले काठमाडौंमा एकै समयमा हुने विभिन्न आन्दोलन र कार्यक्रमहरूका कारण सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको संकेत गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध