नेभिगेशन
राजनीति

प्रचण्डले नन्दबहादुरलाई उपाध्यक्ष बनाएर अगाडि बढाउँदा जनार्दन र बर्षमान हेरेको हेर्‍यै

नेकपा माओवादीमा अब कस्तो ‘साइड इफेक्ट’ पर्न सक्छ?

काठमाडौं– गोप्य राखिएको तर पार्टीका विभिन्न कमिटीमा सर्कुलर जारी गरिएको पदाधिकारी बैठकको खास निर्णय बाहिरिएसँगै माओवादी केन्द्रभित्रको आन्तरिक राजनीतिक समीकरणको निर्णयले हलचल ल्याएको छ।

यसले माओवादीको मात्र नभई राष्ट्रिय राजनीतिमा नयाँ निर्णय र खाका कोरिएको छ भने नयाँ नजीर समेत स्थापित भएको छ।

दुई पटक उपराष्ट्रपति पदको लाभ लिएका नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने निर्णय भएको सर्कुलर सार्वजनिक भएको छ। यो निर्णयले अन्य राजनीतिक दलमा संवैधानिक पदमा बसी लाभ लिएकालाई सक्रिय राजनीतिमा उत्रिनका लागि बाटो खुलेको छ।

यसले राष्ट्रपति बनिसकेका एमालेकी विद्या भण्डारी र कांग्रेसका रामवरण यादवका लागि पनि सुखद बाटो खुलेको छ भने माओवादीको आन्तरिक राजनीतिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पेचिलो अवस्था आई पर्ने विश्लेषण हुन थालेको छ।

दुई पटक संवैधानिक पदमा रहेका पुन नेपालको दोस्रो नागरिक, प्रधानमन्त्रीभन्दा उपल्लो पदमा रहीसकेका छन्। तर प्रचण्डले आफ्नो राजनीतिक उत्तराधिकारी बनाउनका लागि माओवादी उपाध्यक्षको पद मात्र दिएका छैनन् जनार्दन शर्मा र बर्षमान पुनलाई दबाबमा राख्ने हर्कत समेत मच्चाएका छन्।

यसअघि महाधिवेशनमा महासचिवका जनार्दन र बर्षमानको व्यापक चर्चा मात्र थिएन प्रचण्डमाथि दबाब थियो।

केन्द्रीय समितिको सबै पद तय हुँदा पनि महासचिव खाली राखियो। केही पछि स्थायी समितिको बैठक राखेर प्रचण्डले मोहन वैद्यको कित्ता छाडेर रामबहादुर थापा बादलसँग माओवादी फर्किएका देव गुरुङलाई महासचिवमा तानिदिए। जनार्दन र बर्षमान पुन हेरेको हेर्‍यै भएका थिए।

त्यति मात्र होइन दुवैलाई उपमहासचिव पदमा थान्को लगाउँदा पम्फा भुसाललाई समेत उपाध्यक्ष बनाएका थिए।

यसको असन्तुष्टि जनार्दनले अखिल क्रान्तिकारीको तत्कालिन सम्मेलनमा प्रचण्डलाई चुनौती दिएर पोखेका थिए। उनले प्रचण्डको खरो आलोचना गरेका थिए। बर्षमान मौन बसे पनि जनार्दन मौन बस्न सकेका थिएनन्।

‘प्रचण्डको प्रस्तावलाई कसैले पनि पदाधिकारी बैठकमा नकार्न सक्ने अवस्था भएन, नन्दबहादुर पुन उपाध्यक्षमा मनोनित भए’, माओवादी उच्च स्रोतले भन्यो,‘यो विषयमा अन्य पदाधिकारी असन्तुष्ट बने पनि बोल्न सक्ने अवस्थामा रहेनन्।’

प्रचण्डले यसअघि उत्तराधिकारी घोषणा गरेर माओत्सेतुङले जस्तो गल्ती नगर्ने बताएका थिए। उनले भनेका थिए,‘म आफैंलाई सिध्याउने लिन प्याओ जस्तो उत्तराधिकारीको घोषणा गर्दिन।’ यसबेला भने जनार्दन र बर्षमान असन्तुष्ट बनेको विवरण सार्वजनिक भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति