नेभिगेशन
राजनीति

सरकारले आज गभर्नर नियुक्त गर्ने, को–को छन् दौडमा?

काठमाडौं– सरकारले सोमबार नयाँ गभर्नर नियुक्त गर्ने भएको छ। सोमबारदेखि नै राष्ट्र बैंकको नेतृत्व हाँकेका महाप्रसाद अधिकारीको कार्यावधि सकिएको छ। नियमअनुसार एक महिनाअघि नै गभर्नर नियुक्त हुनुपर्ने भए पनि सरकार चुकिसकेको छ।

सोमबार मन्त्रिपरिषदको बैठक डाकि सकिएको छ।

विशेष गरी डेपुटी गभर्नर नीलम ढुंगाना, बम बहादुर मिश्र, पूर्वमुख्यसचिव राजेन्द्रकुमार क्षेत्री, पुर्व बैंकर ज्ञानेन्द्र ढुंगाना सहित रवीन्द्र पाण्डे, गुणाकर भट्ट, रामेश्वर खनाल, लगायतको नाम बढी चर्चामा छ। 

घटनाक्रमले गभर्नर नियुक्ती प्रकृया बिचौलियाको अब्बल उपस्थितीका कारण चरम रुपमा राजनितिकरणमा फसेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्छ। जुन समितिमा पूर्वगभर्नरहरूमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञहरूमध्ये एक जना सदस्य रहन्छन्। 

उक्त समितिले गभर्नरको नियुक्तिको लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुनका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्ये तीन जनाको नाम सिफारिस गर्नुपर्छ। सिफारिस भएका तीन नाममध्ये मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्छ।

राष्ट्र बैंकका वर्तमान गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा गभर्नर बन्ने आकांक्षीहरूको दौडधुप तथा बेचैनी पनि बढ्दो छ।

अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नै २०७६ साल चैत २४ गते गभर्नर नियुक्त गरेका थिए। 

नेपालमा हाल भएका नियामक निकायहरूमध्ये सबैभन्दा बढी स्वायत्त, कानुनी तथा जनशक्ति एवं प्राविधिक रूपमा पनि सक्षम तथा देखिने गरी नियामकको भूमिकामा संलग्न केन्द्रीय बैंक अन्य नियामक निकायभन्दा बढी नै महत्त्वपूर्ण पनि छ। किन कि देशको मौद्रिक नीति निर्माण गर्ने, आर्थिक वृद्धिका लागि आवश्यक मुद्रा बजारमा प्रवाह गर्ने र महँगीलाई सरकारको नियन्त्रणभित्रै राख्ने तीन महत्त्वपूर्ण जिम्मेवारी केन्द्रीय बैंकसँग छ।

महँगी नियन्त्रणका विषयमा केही वर्षदेखि प्रभावकारी भूमिका खेल्न नसके पनि कोरोना महामारीपछिका वर्षहरूमा देशको बजेट अर्थात् वित्त नीतिभन्दा पनि मौद्रिक नीति नै बढी हावी भएका कारण पनि राष्ट्र बैंकको गभर्नरको काँधमा पूरै अर्थतन्त्र निर्भर हुन पुगेझैँ देखिन्छ।

त्यसमाथि पनि देशभरका तीन करोडले दैनिक प्रयोग गर्ने नोट (रुपैयाँ)मा हस्ताक्षर गर्ने गभर्नरको पद यसै पनि ग्ल्यामरस अर्थात् लोभलाग्दो नै मानिन्छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति