नेभिगेशन
राजनीति

तोकिएको मितिमा महाधिवेशन भए कारागारभित्रैबाट रवि लामिछाने सभापतिमा हुनेछन् ‘निर्वाचित’

काठमाडौं– जनयात्रा सुरु गर्नु अघि सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन तोकिएको मितिमा नै हुने बताएका थिए। 

यसअघिको सम्मेलनका क्रममा रास्वपाको महाधिवेशन आगामी वैशाख २५, २६ र २७ गते गरिने मिति तय गरिएको थियो। 

महाधिवेशनका लागि कति काम भएको छ भन्ने यकिन नभए पनि तोकिएको मितिमा हुन सक्ने सम्भावना रहेको बताइन्छ।

त्यो आउनका लागि ठ्याक्कै एक महिना बाँकी रहेको छ। यसबीचमा उच्च अदालत तुलसीपुर इजलाशले सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठीत अपराधमा पूर्पक्षका लागि थुनामा पठाएको छ। 

सोमबार उनी भैरहवा स्थित जिल्ला कारागार चलान भएका छन् भने ब्लक नम्बर ४ मा राखिसकिएको छ। 

अहिलेको मूल प्रश्नचाहिँ लामिछाने महाधिवेशनमा सहभागी हुन्छन् या हुँदैनन् र उनी सभापतिमा दोहोरिने चान्स कति हुन्छ भन्ने हो। 

रवि दोषी हुन् भन्ने प्रमाणित भैनसकेको र पूर्पक्षमा मात्र रहेका कारण अहिले नै उनलाई उम्मेदवारबाट बर्जित गर्न सक्ने कानुनी आधार नरहेको पाइएको छ।

दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै व्यक्ति दलको सदस्य बन्न, उम्मेदवार बन्न वा पदमा रहन कानुनी अडचन हुनुपर्छ भने मात्र प्रतिबन्ध हुन्छ।

यदि कसैले गम्भीर आपराधिक अभियोगमा दोषी ठहर भई सजाय सुनाइएको छ भने मात्र उनी अयोग्य ठहरिन्छन्।

पूर्पक्षको थुनामा रहेको व्यक्तिलाई अदालतले दोषी ठहर नगरेसम्म कानुनी रूपमा उम्मेदवारी दिन रोक लगाउन सकिन्न।

यसकारण समयमा महाधिवेशन भएको खण्डमा रवि निर्विरोध सभापतिमा निर्वाचित हुन सक्ने सम्भावना रहेको छ। तर, उनको उम्मेदवारी वारेसनामामार्फत हुनेछ। 

व्यवाहारिक पक्षमा हेर्ने हो भने रवि तत्कालका लागि पूर्पक्षको थुनामुक्त हुने सम्भावना न्यून देखिन्छ। यद्यपि रास्वपा थुनाविरुद्ध सर्वोच्च अदालतमा पुग्नेछ। 

सर्वोच्च अदालतले थुनामा राखिरहनु नपर्ने आदेश गरेको खण्डमा मात्र रवि बाहिर निस्कन सक्ने सम्भावना छ। अथवा जिल्ला अदालतले उनलाई निर्दोष रहेको फैसला गर्नुपर्ने हुन्छ। 

सहकारी ठगी र संगठीत अपराधमा समेत मुद्दा चलाइएका कारण फरार रहेका जीबी राईलाई पक्राउ नगरी रविलाई अहिले निर्दोष भन्ने अवस्था प्रतिकूल रहेको छ। उनका लागि अहिलेको एउटा बाटो भनेको सर्वोच्च अदालत मात्र हो, थुनामुक्त गर्नका निम्ति। 

यता रास्वपाका मुख्य पद भने कार्यबाहकले चलाएका छन्। सभापतिमा उपसभापति रहेका डीपीले कार्यबाहक जिम्मेवारी पाएका छन् भने कविन्द्र बुर्लाकोटी कार्यबाहक महामन्त्री, मनिष झा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा छन्। 

महाधिवेशनपछि मात्र कार्यबाहक हट्नेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी