नेभिगेशन
समाज विविध

जगमान गुरुङको भनाईप्रति महिला अधिकारकर्मीको आपत्ति

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुन:स्थापनाको माग गर्दै मंगलबार अर्थात् चैत २६ गते काठमाडौँको बल्खुमा प्रदर्शन र सभा गर्दै छ। 

जसमा पूर्वपञ्च नेता नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति पनि सहभागी हुँदै छ। 

तर सो समितिले चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु तथा करोडाैँ मूल्य बराबरका भौतिक संरचना तोडफोड र सामान लुटपाट भएपछि यसका संयोजक सुवेदी हाल घरमै नजरबन्दको अवस्थामा छन्।

यसैले यस समितिको कार्यवाहक संयोजक बनेका छन्- डा. जगमान गुरुङ।

उनैले आइतबार विज्ञप्ति जारी गरी राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गर्ने प्रदर्शनमा आफूहरूको पनि साथ र समर्थन रहने बताएका हुन्। 

तर प्रदर्शनको अघिल्लो दिन उनको एउटा भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा उनले बलात्कार हुनुको कारण महिला नै जिम्मेवार भएको टिप्पणी गरिरहेका छन्।

उनको त्यस्तो विचारविरुद्ध महिला अधिकारकर्मीहरूले आपत्ति जनाइरहेका छन्। 

यसै क्रममा गुरुङको त्यो भिडिओ फुटेज सेयर गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना अन्सारीले लेखेकी छन्, ‘बालिका, महिलालाई वस्तु ठान्नेहरूबाट के नै आशा गर्न सकिन्छ? यस्तै तुच्छ सोच भएकाहरूले जम्मा पारेको भिडले सत्ता उल्ट्याउँछौँ भन्दै छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध