नेभिगेशन
सुरक्षा–अपराध
तथ्य

दुई आईजीले राजावादीलाई तीनकुनेमा प्रदर्शन गर्न नदिन राय दिएका थिए, सेनाको सुझाव झनै गतिलो थियो

गृहमन्त्री रमेश लेखक र प्रजिअ तिवारीको गल्तीको पगरी सुरक्षा निकायको टाउकोमा राखियो

काठमाडौं– चैत १५ गते तीनकुनेमा हिंसात्मक रुपमा भएको राजावादी आन्दोलनमा नेपाल प्रहरीका महानिरिक्षक (आईजी) दीपक थापा र सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले सुरक्षा संवेदनशिलताको विषय केन्द्रीय सुरक्षा समितिको बैठकमा उठाएको तथ्य सतहमा आएको छ।

चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिका बेला दुवै आईजीले तीनकुने संवेदनशिल क्षेत्र रहेका कारण गोली चलाउन समेत समस्या हुने भन्दै प्रदर्शन स्थाल नतोक्नका लागि सुझाव दिएको उच्च स्रोतले जानकारी दिएको छ।

तर राजावादीको आन्दोलन गर्ने समितिलाई अनुमति दिएपछि मात्र सुरक्षा समितिको बैठक राखिएको पनि खुलेको छ।

मन्त्रालय उच्च स्रोतका अनुसार, दुवै पक्षले तोकेको प्रदर्शनको सुरक्षा तयारीबारे छलफल गर्न १० चैतको बिहान ९ बजे केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो। त्यसक्रममा थापा र अर्यालले विमानस्थल समेत नजिकै भएको भन्दै सुरक्षा संवेदनशीलताको व्याख्या गरेर प्रदर्शनस्थल परिवर्तन गराउनुपर्ने प्रस्ताव गरेका थिए।

त्यसअघि नै प्रदर्शनको जनकमान्डर तोकिएका दुर्गा प्रसाईंका अभिव्यक्ति उग्र रहेका कारण आन्दोलन भड्किन सक्ने र त्यसले क्षति हुन सक्ने राय आईजीद्वयको थियो।

‘अन्तर्राष्ट्रिय विमानस्थल समेत नजिक रहेको र आवागमन पनि बाक्लो हुने जङ्शनमा प्रदर्शन गर्न दिनु उचित नहुने राय सुरक्षा निकायका प्रमुखको सुझाव थियो। तर त्यसबेलासम्म अनुमति दिइसकेको गृहमन्त्री रमेश लेखकले जानकारी गराएका थिए’, उच्च स्रोतले भन्यो,‘सुरक्षा प्रमुखहरुले जे भन्नुभयो आखिर त्यहि नै भयो।’

प्रसाईंको उग्रताका बीच विमानस्थलदेखि प्रतिनिधि सभाको भवन समेत नजिक रहेका कारण विचार गरिनुपर्ने राय थियो। 

‘कतिसम्म भने मञ्च राखिएको ठाउँमा ड्रोन समेत उड्दैनथ्यो, त्यहाँ पुग्नुअघि नै रेड सिग्नल आउँथ्यो’, स्रोतले भन्यो। 

आईजीद्वयको रायसँगै नेपाली सेनाले त अझ गतिलो सुझाव दिएको थियो। उच्च स्रोतका अनुसार बैठकमा सहभागी सेनाका अधिकारीले एकै दिन दुई समूहलाई प्रदर्शनको अनुमति दिनु नै उचित नहुने बरु फरक–फरक दिनमा दिनुपर्ने सुझाव दिएको थियो।

राजतन्त्रवादी र गणतन्त्रवादीको प्रदर्शन एकैदिन जुध्दा सुरक्षा व्यवस्थापनमा थप चुनौतिहरु हुने सेनाले भनेको थियो।

नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाले सरकारले आग्रह गरे प्रदर्शनका कार्यक्रम सार्न समेत तयार हुने सैनिक अधिकारीहरुको विश्लेषण थियो।

सेनाले मुख्य शहरको बीचमा प्रदर्शन गर्न दिँदा त्यहाँ घुसपैठ भएर तनाव भएको स्थितिमा आक्रोशित भिड सिंहदरबार वा अन्य महत्वपूर्ण संरचनातिर जान सक्ने भन्दै सचेत गराएको रक्षा मन्त्रालयले जनाएको छ।

सुरक्षा निकायका प्रमुखहरुले प्रस्ताव राखेपछि गृहमन्त्री रमेश लेखकले भने त्यसबेला जिल्ला सुरक्षा समितिले तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइसकेको जानकारी गराएका थिए। त्यतिञ्जेल जिल्ला प्रशासन कार्यालय, काठमाडौंले  प्रसाईंसँग समेत छलफल गरेर प्रदर्शन शान्तिपूर्ण हुने भन्दै तीनकुनेलाई अनुमति दिइसकिएको सन्देश सुरक्षा अधिकृतहरुले पाएका थिए।

अधिकारीहरुका अनुसार, प्रसाईंले सुरुमा बल्खु क्षेत्रमै प्रदर्शन गर्न चाहेका थिए। पहिले पनि त्यहाँ प्रदर्शन गरिसकेकाले उनले बल्खुमा प्रदर्शन गर्न अनुमति दिन माग गरेका थिए।

बल्खु प्रसाईंले मुख्य निशाना बनाएको माडवाडी समुदायको बाक्लो बसोबास रहेको ठाउँ थियो, त्यहाँ प्रदर्शन गर्न दिँदा थप तनाव होला भन्ने तर्क काठमाडौंका केही प्रहरी अधिकृतहरुले गरेका थिए।

नेपाल प्रहरीका प्रमुख दिपक थापाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा शान्तिपूर्वक प्रदर्शन गर्ने भनेर प्रसाईंको समूहले स्थान समेत प्राप्त गरिसकेपछि नेपाल प्रहरी र अन्य सुरक्षा निकायको जिम्मेवारी त्यसको सुरक्षा गर्ने भएको बताए।

यद्यपि, प्रहरीको गोली लागेर प्रदर्शनसँग सरोकार नै नभएका रेबिका खत्री र दिनेश खत्री कोटेश्वरस्थित डेरा छेऊ प्रहरीको गोली लागेर घाइते भएका थिए। थप १८ जनालाई प्रहरीको गोली लाग्यो। कीर्तिपुरका सबिन महर्जन गोली प्रहारबाट मारिए। टेलिभिजन पत्रकार सुरेश रजकको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको घरमा मृत्यु भयो।

यस विषयमा सत्ता पक्ष र प्रतिपक्षसहितका सांसदल प्रश्न उठाए। सुरक्षा निकायलाई लक्षित गरी उनीहरुका कडा प्रश्न आएका थिए। यद्यपि प्रहरी अधिकारीले घटनालाई सकभर नियन्त्रणमा नलिएको भए अझ ठूलो क्षति हुने सम्भावना रहेको थियो। 

बैठकमा आईजीपी थापाले प्रहरीतर्फ ५५ र सशस्त्र प्रहरीमा २५ जना घाइते भएको तथ्यांक प्रस्तुत गरे। उपत्यका प्रहरी कार्यालयका अनुसार, त्यसदिन प्रदर्शनकारीतर्फ ५२ जना घाइते छन्। प्रहरीका अनुसार, प्रदर्शनमा ७४६ राउण्ड अश्रुग्यास प्रहार भएको थियो भने २३९ छर्रा, १९२ राउण्ड ब्ल्याङ्क राउण्ड र २ राउण्ड पेस्तोलबाट गोली चलेको थियो।

मंगलबारका लागि राप्रपाले गर्ने प्रदर्शनलाई भने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बल्खुमा अनुमति दिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ