नेभिगेशन
राजनीति

राजसंस्था पक्षधर आन्दोलनमा भारतीय प्रभावको चर्चा 

गणतन्त्रको जस लिनेले राजावादी आन्दोलनलाई कसरी सघाएका छन्?

काठमाडौं– नेपालमा राजावादी आन्दोलनमा भारतीय प्रभावको चर्चा बलियो हुने गरेको पाइएको छ। यद्यपि नेपालका सत्तारुढ दलका मुख्य नेताका केही दाबीले यसलाई खण्डित गर्ने प्रयास पनि गरिरहेका छन्।

नेपालको गणतान्त्रिक व्यवस्था आउनुमा भारतीय प्रभावको भूमिकाको चर्चा चल्दा त्यहाँ ११ बर्षदेखि चलिरहेको हिन्दू कट्टरपन्थी पक्षको सत्तारोहणबीच नेपालमा राजावादी आन्दोलन केही उचाईँमा पुग्नुलाई परोक्ष रुपमा प्रभाव राखिएको अनुमान स्वभाविक बन्न थालेको कतिपय विश्लेषकहरु बताउँछन्।

नेपालमा हुने महत्त्वपूर्ण राजनीतिक घटनाहरूमा नयाँ दिल्लीको प्रत्यक्ष एवं परोक्ष संलग्नताको विषय बेला बेलामा उठ्ने गरेको बीबीसी नेपाली न्यूजको एउटा खबरमा उल्लेख गरिएको छ।

कतिपय भारतीय अधिकारीहरूले अवकाशपछि प्रकाशित गरेका पुस्तकहरूमा नेपालमा राजतन्त्र अन्त्यका लागि भूमिका खेलेको तत्कालीन माओवादी विद्रोही र संसदीय दलहरूबीच सन् २००५ मा भएको १२ बुँदे सहमति निर्माणमा दिल्लीको पनि भूमिका रहेको उल्लेख गरेका छन्।

उक्त सहमतिलाई टेकेर भएको विस्तृत शान्ति सम्झौतामार्फत नेपालमा २४० वर्ष लामो शाहवंशीय राजतन्त्रात्मक व्यवस्था अन्त्य भएको थियो।

त्यसयताका वर्षमा खास गरी नेपालले संविधान जारि गर्दाको समय र नक्सा अद्यावधिक गरेपछिको परिस्थितिमा नयाँ दिल्ली र काठमाण्डूबीचको सम्बन्धमा चिसोपन देखिएको थियो।

अझ राजतन्त्र हटेसँगै नेपालमा चिनियाँ प्रभाव बढेको भन्ने कतिपय भारतीय सुरक्षा विज्ञहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा पर्नसक्ने जोखिमको विषयलाई उठाउने गरेको पाइन्छ।

यस्तोमा पूर्व राजाको पछिल्लो सक्रियतालाई कतिपयले भारतमा बलियो बनिरहेको हिन्दू राष्ट्रवादी राजनीतिसँग समेत जोडेर हेर्ने गरेको पाइन्छ।

ज्ञानेन्द्र शाहको नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट भेटघाट हुने गरेको बताइन्छ।

पोखराबाट काठमाडौं फर्कँदा उनलाई गरिएको स्वागत कार्यक्रमका बेला राजधानीमा भएको एउटा प्रदर्शनमा ल्याइएको योगी आदित्यनाथको तस्बिरले भारतीय सञ्चारमाध्यममा समेत ठूलो चर्चा पाएको थियो।

चैत १५ गतेको राजसंस्था पक्षधर प्रदर्शन र त्यसपछिको अवस्थाबारे पनि भारतीय सञ्चारमाध्यमले निरन्तर समाचारहरू सम्प्रेषण गरिरहेका छन्।

तर भारतको दिल्लीस्थित मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानका रिसर्च फेलो निहार नायक राजसंस्था पुनस्र्थापनाको माग गर्दै भइरहेका गतिविधिप्रति भारतको राजनीतिक वृत्तमा खासै रुचि नरहेको ठान्छन्।

उनले भने, ‘मलाई लाग्छ भारतले यसलाई नेपालको आन्तरिक घटनाक्रमको रूपमा हेर्छ। भारत सरकारले अहिलेको बिन्दुमा दुई देशबीचको सम्बन्धमा असर पर्ने कुनै असाधारण खालको परिस्थिति बन्ने सम्भावना देखेको छैन।’

अघिल्लो साता बिमस्टेक सम्मेलनमा भाग लिन गएको बेला प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग एक्ला एक्लै भेटवार्ता गरेका थिए।

त्यसबेला राजावादीहरूको प्रदर्शनका बारेमा पनि कुराकानी भएको अपुष्ट विवरणहरू आएपनि दुवै पक्षले एक अर्का देशसँगको सम्बन्ध प्राथमिकतामा रहेको औपचारिक धारणा मात्रै सार्वजनिक गरेका छन्।

यता, एउटा कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नेता योगी आदित्यनाथले नेपालको व्यवस्थाप्रति भारतको कुनै पनि चासो नरहेको भनी त्यहाँस्थित दूतावासमा नै पुगेर जानकारी गराएको दाबी गरेका छन्।

यद्यपि त्यहाँका बरिष्ठ पत्रकारदेखि विचारकसम्मले हालको सत्ता चीनतिर ढल्किएका कारण भारतका लागि राजावादी आन्दोलनमा सहयोग गर्नु नै उचित हुने राय दिएका अन्तरवार्ता प्रशारण भएका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति