नेभिगेशन
विचार
फरक मत

सगरमाथाको शिरबाट खाल्डोमा अवस्थित राजेश मिश्रलाई भर्‍याङ नबिर्सन आग्रह

सगरमाथाको शिरबाट खाल्डोमा अवस्थित राजेश मिश्रलाई भ¥याङ नबिर्सन आग्रह

विश्वविख्यात उदयीमान महिला कवियत्री सराह चाइल्डले ‘फार फ्रम दि होम’ शीर्षक नामक एक कविताको पहिलो छन्दमा भनेकी छन्–
‘आइ एम स्टक इन दिस अनफेमिलियर प्लेस,
विथ अल दिज अनफेमिलियर पिपल,
एनोदर डे इनदिस फरेन ल्याण्ड,
आइ एम स्योर टु गो म्याड’

हिभन इज मिथ, नेपाल इज रियल भनिने मुलुकबाट राजेश मिश्र जीको लेख नियाल्दा माथिको कवियत्रीले भने झैं अपरिचित मुलुक, मानिस र भूमिमा रहेकोले कविको जस्तै  स्थिती पैदा भएको हो की थाहा भएन ।

चैत्र १७, २०८१ का दिन सान डिएगो क्यालिफोर्निया उल्लेख भएको नेपाल खबर अनलाइन समाचारमा एउटा लेख प्रकाशित भयो। वर्तमान नेपाली राजनीतिक ध्रुवीकरण सरगर्मीकाबीच यस लेखलार्ई महत्व दिएर केही समय खर्चिनू त्यति प्राथमिक विषय थिएन। तथापि, अलमलिएको नेपाली समाजमा गलत सन्देश जाने सम्भावना र भ्रम चिर्न आवश्यक भएका कारण उक्त लेखको शीर्षक ‘ज्ञानेन्द्रलाई उक्साउने एउटा मान्छे थियो, भन्दो रहेछ– सरकार, हान्दिए हुन्छ, इन्डिया साथमा छ।’ यहाँबाट विषय प्रवेश गरौं ।

शीर्षकका सम्बन्धमा धेरै तर्क गर्न आवश्यक देखिएन किनकी इन्डिया साथमा भएको भए राजसंस्था विघट्न हुने थिएन । तात्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूतका रुपमा १९ अप्रिल, २००६ तदनुसार २०६३ साल बैशाख ६ गते बुधबार नेपाल आएका करण सिंहले राजा ज्ञानेन्द्रलाई दुई शर्त पुरा गरे राजसंस्था रहि रहने प्रस्ताव अस्वीकार गरेका कारण राजसंस्था विघट्न भएको विभिन्न सार्वजनिक डोमेनमा आईसकेको छ। यसबाट इन्डिया राजसंस्था वा राजा ज्ञानेन्द्रका पक्षमा नरहेको देखिन्छ। 

राजा ज्ञानेन्द्रको तेजोबध गर्न खोजेको होइन भन्दै एउटा सुष्त मनस्थितीको बालकको बिम्ब प्रयोग मार्फत तेल बेच्ने साहु, तेल थाप्ने काँचको कचौरा र सुष्त मनस्थितीका बालकले घोप्ट्याइदिएको “काँस”को कचौरामा तेल हाल्ने ब्यापारी र सुष्त मनस्थितीका बालकलाई तेल किन्न पठाउने “आमा” सबैको तेजोबध १९६३ मा तात्कालिन राष्ट्रपति जोन एफ केनेडीको हत्यामा प्रयोग भएको “मेजिक बुलेट” कै शैलीमा लेखमार्फत गरिएको भन्दा अतिसयोक्ति नहोला ।  

विषय प्रवेशबाट नै उनको ब्यक्तित्व र लेखन स्तर प्रष्ट हुन्छ । लेखकले प्रयोग गरेका हरेक शब्द र शैलीमा जाने हो भने लेख लामो, पट्यार लाग्दो, र, समय खेर गएको अनुभूति हुन्छ ।

तसर्थ, मूख्य विषयमा प्रवेश गरौं । त्यस भन्दा पहिला भन्नै पर्ने हुन्छ, लेखमा भनिए झैं राजा ज्ञानेन्द्र दुबै पटक झुक्किएर राजा भएका पनि होइनन् न, आफ्नो प्रयास, कुण्टा, उत्कट, चाहना वा दलीय भाषमा भन्नु पर्दा तिकडम, षडयन्त्र वा लम्पसार परेर राजा भएका हुन् । राजा ज्ञानेन्द्र राजा हुनैका लागि जन्मेका वा त्यस किसिमले अपेक्षाकृत विकसित गरिएका पनि होइनन् । आवश्यक्ताको सिद्धान्त वा भनौं “डक्ट्रिन अफ नेसेसिटीका” आधारमा २००७ सालमा तात्कालिन प्रधानमन्त्री मोहन शमसेर र २०५८ सालमा नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम राज्य सहायक र , पछि राजा ज्ञानेन्द्र राजा बनाइएका हुन् । तसर्थ, गाली गलौज र दुरासय युक्त मनोदसाबाट ग्रसित विक्षिप्त लेखन शीप, शैली र शब्दका बारे धेरै भन्नु छैन ।

लेखको शुरुवाती अनुच्छेदमा राजा ज्ञानेन्द्रको अंग्रेजी भाषाको दक्षता प्रति घृणा भाव राख्दै एउटा अंग्रेजी उखान उपहार दिउँ भन्दै यस्तो लेखिएको पाइयो । मान्छेको मगजका दुई भाग हुन्छन्। राइट (दायाँ) र लेफ्ट (बायाँ) । यो वाक्य त्यसैसँग सम्बन्धित छ । यो वाक्य कसले बनायो, थाहा छैन । तर गजब बनायो । 

वाक्य भन्छ, ‘देयर इज नथिङ राइट इन माइ लेफ्ट माइन्ड, एन्ड देयर इज नथिङ लेफ्ट इन माइ राइट माइन्ड।’ खस अर्थमा लेखको हरेक खण्डको खण्डन गर्नू यस लेखको मनसुवा नभएका कारण विशेष टिप्पणी छैन । राजा शब्द राजा ज्ञानेन्द्रले नबुझेको, ब्यापार बुझेको । मुर्ती तस्कर । असी वर्ष पुग्न लागेको लुब्ध र क्षुब्ध, आफ्नो छोरालाई संस्कार दिन नसकेको, प्रवीण गुरुङ्ग प्रकरण,दरबार हत्या प्रकरण, हुँदा हुँदा कथावाचक नारायण प्रसाद पण्डितको हत्या पनि ज्ञानेन्द्रले नै गरेको भन्न भ्याएछन् । जसका विषयमा उनकै परिवारका मानिसहरुले समेत र अन्य मानिसले समेत प्रष्ट रुपमा हत्यारा पक्षले समेत जिम्मेबारी कबुल गरि सकेको विषय हो । 

अति तुच्छ र घृणित शब्दहरुको गाली गलौजपुर्ण लेख त्यो  पनि एक तर्फि रुपमा राजा ज्ञानेन्द्  मात्र लाई निम्न  स्तर को व्यक्ति को रुपमा चित्रण गरेर  नेपालको सबैभन्दा अपराधी करार गर्ने मात्रै ध्येय प्रस्तुत लेखकको देखिएको हुँदा सरसर्ती हेर्दा प्रतिशोधयुक्त पो हो कि जस्तो आभास हुने रहेछ । 

खैर, अवस्था नफेरिए पछि ब्यवस्थाका विरुद्धमा सडकमा जनताः लोकतन्त्रको सुन्दरता भनेकै वाक स्वतन्त्रता हो भनिन्छ । आ—आफ्नो क्षमता अनुसार उब्गाउने र पोख्ने हो । यसमा केही भन्नु छैन । तर, केही शिक्षा, धन,र अमेरिकामा बसेको उन्माद र घमण्ड धेरै छ भने ज्ञानको फैलावट र धनको सीमाका बारे जानि राख्नु होला । ईतिहाँस र भूगोल अनि भाषा र कुण्ठाको पृष्ठभूमि अरुले पनि जानेका छन् भन्ने मनमा रहोस् । छोटो समयको लागि धेरै मानिसलाई भ्रममा पार्न सकिएला । तर, लामो समयकालागि थोरै मानिसलाई पनि यस्तो भ्रममा टिकाई राख्न सम्भव छैन । राजा ज्ञानेन्द्र, केपी, शेरबहादुर, प्रचण्ड,माकुने,बिप्लव लगायत  कोही पनि मन पर्न वा मन नपर्न सक्छ । वा, पाइन्छ । तर, कसैका बारे अभिब्यक्त दृष्टिकोण ( परस्पेक्टिभ) का आधारमा आक्षेप वा घृणा वा पक्षपाती हुनु मनासिब होइन । 

यद्यपि, सात दलीय गठबन्धन त्यसमा पनि मूख्यगरि तीन दलीय गठबन्धन वा तिनका नेताबाट सम्पादित कामका सम्बन्धमा फरक विचार राख्नेका विरुद्ध साइबर सेना, भौतिक बाघे झम्ट्याई जारि गरेको फर्मान झैं फर्मान जारि हुन्छ । त्यसैले मानिसहरु भन्न विवश छन् यो ब्यवस्था हाम्रो लागि रहेनछ । जहाँ निर्देशित र प्रायोजित बस्तु र सेवा बाहेक अन्य विकल्प निषेध छ । बिकल्प विहिन उपभोक्ताबादी समाज सृजना गरिएको छ । सेवा, बस्तु र, स्वतन्त्रता सिन्डिकेट गरिएको छ ।

वित्तिय अराजकताका कारण ब्यवशायीहरु प्रताडित छन् । बिग्रदो परराष्ट्र सम्बन्ध, मौलिक धार्मिक—सांस्कृतिक परम्परा र अभ्यासमाथिको निरन्तरको हस्तक्षेप, गहिरिदो आर्थिक सङ्कट,डरलाग्दो युवा पलायन, नागरिकमा देखिएको चरम निरासाले  वर्तमान राज्य ब्यवस्था कति चल्न सक्दछ ? विषय जसरि  र जुन समयमा उठान भएको छ यसले अन्य नेताज्यूहरुको बारेमा उल्लेख नगरेको हुँदा यो प्रतिशोध र दुरासययुक्त छ भन्न सकिन्छ । किनकी, तीस चालिस वर्ष अघि घटित अप्रमाणित र, नठहरिएका विषयहरु उछालेर राजा ज्ञानेन्द्रका बारेमा मात्र विष बमन गर्नुले नियत स्पष्ट थाहा हुन्छ । 

मुद्दाका विषयमा भन्दा मान्छेका बारेमा केन्द्रीत विषय वस्तुले पनि यो कुरा स्पष्ट गर्दछ । वर्तमान परिप्रेक्ष्यमा राजा ज्ञानेन्द्रलाई यतिका वर्ष पछि गद्दीमा नबसि नहुने पनि केही छैन । बस्ने चाहना पनि खासै देखिंदैन । जनचाहनाको कदर गर्ने विषयमा शाहवंश परम्परा, ईतिहांस र राजा ज्ञानेन्द्रकै पनि सार्वजनिक प्रतिबद्धता हामीले देखे सुनेकै हो । अहिलेको ब्यवस्थामा जनभावना अनुरुप नेता र दलहरुले देश र जनताको हितमा खुरु खुरु काम गरेको भए वा गर्ने भए यो परिस्थिती सृजना हुने सम्भावना थिएन । 

जनताको बलिदानबाट प्राप्त गरिएको भनिएको ब्यवस्थामा जनताको वास्तविक प्रतिनिधित्व हुन सकेन । कुनै पनि आन्दोनमा सोझा, साझा पहुँच र पहिचान बाहिरका दीन हीन गरिब जनताको मात्रै शाहादत र शारीरिक एवम् भौतिक क्षति भएको हुँदा नेतालाई यो ब्यवस्था र देश प्रति मायाँ भएन । देशको परिस्थिती प्रतिकुल भएमा सबै भन्दा पहिला देश छोडि भाग्न झोला झाम्टा तयार पारि बसेका अधिकांस साठी कटेका बारम्बार परिक्षित र असफल नेताहरुबाट यो मुलुक बन्दैन भन्ने कुरामा ठोकुवा गर्न सकिन्छ ।

घटना र तथ्यहरुका आधारमा विश्लेषण गर्दा मुलुक २०६३ सालको स्थिती भन्दा धेरै पछाडी गएको छ । विकासका नाममा सुन्दर पहाडका डाँडाहरु विना अध्ययन र योजना भोट र नोटकालागि डोजर लगाउँदा बाढि,पहिरो,भ—ूक्षय, पानीका मुहान र झरनाहरु मासिएका छन् । बर पिपलका चौताराहरु मासेर बाटो र टीनको टहराको प्रतिक्षालय बनाइएको छ । भ्युटावर, स्वागतद्वार, आलू, काउली, बांघ,बङ्गुर,काग,चरा,र जथाभावि शालिक निर्माण गरेर सुन्दर र खुला स्थलहरु नासिएको मात्र नभई अनावश्यक खर्च र भ्रष्टाचार बढेको छ । श्रमसंस्कृति लगभग समाप्त गराइएको छ । उपत्यका र मोफसलका कृषकहरु समेत कालिमाटी तरकारी बजार जस्ता स्थानीय ठूला तरकारी पसलबाट विदेशी उत्पादन ल्याई बिक्री गर्ने गरेको पाइन्छ ।

शहरमा जनसंख्याको चाँप अत्याधिक छ । गाउँमा बाटो बिजुली,पानी,सञ्चार पुगेको छ तर, मलामी जान समेत मान्छे नपाइएको घटना हाम्रै नजरमा छ । गाउँका सरकारी विद्यालयहरु बन्द र मर्ज हुँदै गइरहेका छन् । 

कतार मलेशिया जस्ता देशमा मासिक बीसदेखि तीस हजार कमाउन जाने यूवाका पती—पत्नी बच्चा पढाउने वा काम गर्ने निहुमा सदरमुकाम वा काठमाडौं बस्ने उपभोक्ताबादी समाज बिकसित हुँदै छ । आयातित तयारी खाना वा “मोबाइलबाट खाना र पठाओबाट जाना” समाज हुर्काइएको हालसालै हो । जमिन बाँझो र घर उजाड मात्रै होइन, मन पनि अशान्त र उद्वेलित छ । सर्नेबाट नसर्ने प्राण घातक, महङ्गो र लामो उपचार पद्धतिमा रहनु पर्ने र दिनानुदिन औषधि उपचारमा भरपर्नु पर्ने जीवनशैली छ । उपलब्ध गराइएको तलब सुबिधामा काम गर्ने कर्मचारी र दलमा नरहेको प्राकृतिक ब्यक्तिको कल्पना गर्न सकिने अवस्था छैन । महिला,बालबालिका,बृद्ध र युवा कहिंपनि कहिल्यै सुरक्षाको अनुभूति गर्न नसक्ने अवस्थामा वर्तमान समाज छ । बिहान हिंडेको मानिस बेलुका सकुशल घर नफर्किंदा सम्म मन बेचैन रहने अवस्था छ । 

पहुँच र पहिचान नभएको मानिस पढ्न,उपचार गराउन, काम पाउन, र, सरकारी सेवा सुविधा प्राप्त गर्न सक्दैन । आज जति पनि मानिस शक्ति,पद,पहुँच र अत्याधिक सुख भोग गरिरहेका छन् ती तात्कालिन समयका सरकारी संरचनामा निर्मित सरकारी स्कुलमा निःशुल्क प्रकृतिको शिक्षा हांसिल गरेर पंचायतका पालामा पढ्न पाँइदैन थियो भनिरहेका छन् । जुन सरासर बेइमानी र असत्य कुरा हो । पढ्न त अहिले पाइरहेका छ्रैनन् । उपचार गराउन त अहिले पाइरहेका छ्रैनन् । वैदेशिक ऋणको भार, महङ्गी, बेरोजगारी, रोग, भोक र शोक त अहिले धेरै छ नि हैन र ? दलमा नलागेको त्यसमा पनि दलको अलि बढि चुरीफुरी भएको गुटमा नलागेको मानिसको त अस्तित्व नै छैन । सामान्य नागरिकका रुपमा त केही पनि काम गर्न गराउन सक्दैन । दलाल वा बिचौलिया बेगर काम हुनै नसक्ने  प्रणालीलाई पिपिपि भनियो । यातायात, भन्सार, मालमोत, अस्पताल, नापि, प्रशासन जस्ता कार्यालयमा कहिल्यै जान नपरोस भनि कुल वा ईष्ट देवता भाक्नु बाहेक केही उपाय छैन । यति सानो देशमा यति धेरै राजनीतक —प्रशासनिक संरचना, काम र उत्पादन बेगर तलब भत्ता खाने आयात, विप्रेषण, विभिन्न किसिमका जरिवाना र करबाट पैसा उठाएर लुट मच्चाउने प्रणाली कसलाई किन कसरी मन परेको छ सबैले बुझेकै छन् । 

त्यसैले सधैं जनता को यो स्तरको असन्तुष्टि,वित्तीय अराजकता, भ्रष्टाचार,कुशासन र  आफ्नो  अक्षमतालाई दोष जति राजा ज्ञानेन्द्र शाह वा  अन्य कोहि  कसै पट्टी तेर्साएर मात्रै कतिन्जेल पो थेगियला र?  वर्तमान  प्रणाली, संरचना र यिनका चालकले गन्तब्यमा पु¥याउँछन भन्ने विश्वास नलागे पछि र मुलुकमा गणतन्त्र आएको १७ वर्ष बितिसकेपछि एवम् देशको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता खतरामा परेको अनुभूति पछि कसै न कसैले अगुवाइ गरेर मुलुकलाई निकास दिनुपर्ने बाध्यता थियो । त्यसकै सिलसिलामा राजा ज्ञानेन्द्रले  पनि जनताको आग्रहमा दलहरुले आक्षेप लगाए जस्तो, प्रजातन्त्र मास्ने, आफु राजा हुने जस्ता नीहित स्वार्थ नराखि माथि भनिए झैं संकटबाट  देश बचाउने एउटा सार्वजनिक अपिल गर्नु भएको छ । एसमा  कोहि पनि  उत्तेजित नभै कसैलाई  देवत्वकरण वा दानविकरण नगरौं भन्ने यो लेख को मुख्य आशय हो ।  

हामीसंग सम्भवतः ईतिहाँसमा जटिल भू राजनीतिक दाउपेचबाट मुलुक बचाउने वा भूराजनीतिक चपेटामा मुलुक फसाउने भन्ने विषयमा निर्णय लिने एउटा अन्तिम मौका छ । सबैले मिलेर एक ढिक्का भएर दलगत र ब्यक्तिगत स्वार्थ भन्दा माथि उठी निषेधको राजनीति त्यागी राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति कदम चाल्नु पर्दछ । त्यसकारण, उक्त लेखकलाई म चिन्दिन, जान्दिन र चिन्न जान्न आवश्यक पनि छैन । तर, अभिब्यक्त सामाग्री र बेतुकका निराधार पुर्वाग्रही लेख प्रति एक देशभक्त नेपाली नागरिकको रुपमा संविधान प्रदत्त असहमतिको हक अनुरुप विमति राख्दछु ।

अन्त्यमा, एक ब्यक्तिका रुपमा राजा ज्ञानेन्द्रका कतिपय कमी कमजोरी नकार्न सकिंदैन र उनले स्वीकार पनि गरेका छन् । यो लेखको आशय राजा ज्ञानेन्द्रको पक्षमा काउन्टर गर्नु पनि छैन होइन । र लेखक लाई राजसस्था वा तन्त्रको  वकालत गर्नु पनि छैन।  मिश्रजीलाई लेखकीय धर्म र मर्यादालाई नबिर्सि, सकेसम्म तटस्थ,निष्पक्ष, बस्तुनिष्ठ, र तथ्यका आधारमा विचारहरु संम्प्रेषण गर्न र, ब्यक्तिगत कुण्ठाहरु बौद्धिक र प्राज्ञिक बहसमा प्रवेश नहुनु उत्तम हुने कुरा स्मरण गराउँद छु ।  

धन्यबाद । जय देश!
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विचार

आईजी थापाका ‘जायज’ उत्तर

राजा कसरी रहन पनि सक्छन्?