नेभिगेशन
राजनीति

नेपालमा रावणको शासन छ : डा. लोहनी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा रावणको शासन चलिरहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपालमा रावणहरूको शासन चलिरहेको छ । रावण भनेको अहंकार हो, घमण्ड हो । सर्वसाधारणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेको ठीक हो भन्ने अहंकार हो । नेपालमा अहिले जनताको बल लिएर रावण प्रवृत्तिहरूले शासन चलाइरहेका छन्,’ उनले भने । उनले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको यथाशीघ्र रिहाइको माग समेत गरेका छन् ।

उनीहरूलाई लामो समय कारबासमै राख्ने षड्यन्त्र भइरहेको बताए । ‘उहाँहरूलाई २५ वर्षसम्म झ्यालखाना राख्ने मुद्दा लगाएको छ । यो देश तिमीहरूको बिर्ता होइन, नेपाली जनताको लालपुर्जा हो । यसमा खेलाँची नगर,’ उनले भने ।
मिश्र र राणालाई नछाडेसम्म आफूहरूले नछाड्ने उनले बताए । ‘यदि छोडिएन भने हामी पछि लाग्छौं । उहाँहरूले नेपाली जनताको पक्षमा बोल्नु भएको हो । उहाँहरूलाई छोड्नुस्, छोड्नु पर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति