नेभिगेशन
सुरक्षा–अपराध

सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार गरेको आरोपमा कलैयाका प्रमुख प्रशासकीयसहित पाँचविरुद्ध मुद्दा

काठमाडौ - सेनिटरी प्याड खरिदमा करिब ५२ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । कर्मचारीसँग मिलेमतो गरेर लभ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले सागर देवी फर्मा, हेटौडा र त्यसका प्रोप्राइटर विमलेश शाहलाई पनि प्रतिवादी कायम गरेको छ । 

आव ०७७/७८ र ०७८/७९ का लागि सेनिटरी प्याड खरिद गर्दा कर्मचारी र आपूर्तिकता कम्पनी सागरदेवी फर्माले मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । 

फर्मा र त्यसका प्रोप्राइटर शाहसँगको मिलोमतोमा आव ०७७÷७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी उपमहानगरका कर्मचारीले अस्वभाविक मूल्य कायम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

१९ मंसिर ०७७ को टिप्पणी निर्णयबाट सेनिटरी प्याडको प्रति प्याकेट मूल्य ७९.१ रुपैयाँ कायम गरिएको थियो । जुन मूल्य अस्वभाविक हो । टिप्पणी निर्णयबाट लागत इस्टिमेट स्वीकृत गराइएको थियो । 

यता फर्मा सञ्चालक शाहले राष्ट्रसेवकसँग मिलेमतो गरी एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेश गरेका देखिएको छ । त्यसमा प्रति प्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी उपमहानगरले ठेक्का दियो । 
तर, पछिल्लो आवमा त्यही सेनिटरी प्याडको खरिद निकै कम दरमा भयो ।

 ०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । पछिल्लो वर्षको खरिद हेर्दा अघिल्लो वर्षभन्दा निकै कम दर पाएपछि अख्तियारले यसैको आधारमा मुद्दा दायर गरेको छ । 

अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाँ बढीका दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी भएको अख्तियारले जनाएको छ ।

 पछिल्लो वर्षको तुलनामा बढी भुक्तानी देखिएको रकमलाई नै अख्तियारले भ्रष्टाचार कायम गरेको छ । यसमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसहित अन्य कर्मचारी अधिकारी, ठाकुर र सर्राफविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । हिनामिना भएको रकमलाई नै संयुक्त बिगो कायम गरेर उनीहरूलाई अख्तियारले प्रतिवादी कायम गरेको छ । 

राष्ट्रसेवकसँगको मिलोमतोमा सेनिटरी प्याड खरिद गर्दा बढी भुक्तानी लिएको आरोपमा कसुर कायम गरेर अख्तियारले फर्मा र फर्माका प्रोप्राइटर शाहलाई पनि प्रतिवादी कायम गरेको छ । कसुरको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कार्य गरेको अख्तियारको आरोप छ । उनीविरुद्ध पनि ५१ लाख ९९ हजार १२० रुपैयाँ नै बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ