नेभिगेशन
खेलकुद

यु–१९ क्रिकेट विश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल युएईसँग

काठमाडौं- आइसिसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । भट्टको कप्तानी रहेको टोलीमा अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।

साथै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपीनप्रसाद शर्मा टोलीमा छन् । प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन् ।

यस्तो छ खेल तालिका

माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, आगामी वैशाख १ गते ओमान र नेपाल, वैशाख ३ गते अफगानिस्तान र युएई, वैशाख ५ गते हङकङ र ओमान भिड्ने छन् भने वैशाख ६ गते युएई र हङकङ प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा घरेलु टोली नेपाल र युएई भिड्ने छन् ।

आगामी वैशाख १ गते अफगानिस्तान र हङकङ, वैशाख ३ गते हङकङ र नेपाल, वैशाख ४ गते युएई र ओमान प्रतिस्पर्धा गर्नेछन् भने वैशाख ६ गते नेपाल र अफगानिस्तानबीच भिडन्त हुनेछ ।

Nepal-ICC-CAN1-1744162167.jpg
 

 

|

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद