नेभिगेशन
राजनीति

ज्यानको माया मारेर राजावादीको आन्दोलन घोषणा, वैशाख २२ गते सामूहिक गिरफ्तारीको योजना

काठमाडौं– आगामी वैशाख २२ गते राजावादीले फेरि राजधानीमा व्यापक आन्दोलनको घोषणा गरेका छन्। जनआन्दोलन समितिको संयोजकको जिम्मेवारी पाएका डा. जगमान गुरुङले यस पटकको आन्दोलन शान्तिपूर्ण हुने भन्दै विभिन्न घोषणा गरेका छन्।

वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा पनि गरेका छन्। 

बुधबार काठमाडौँमा समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा बोल्दै उनले त्यसलाई रोक्न सरकारले चैत १५ गतेको कार्यक्रमपछि जारी भएका वारेन्ट खारेज गर्नुपर्ने र नेता नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने सर्त राखेका छन्। 

‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफतारी दिन्छौं,’ गुरुङले भने, ‘सबैभन्दा पहिले मै हिँड्छु। म ७८ वर्षको सुगर  बिरामी माटोको टिका लगाएर मै हिँड्छु। तपाईंहरु को आउनुहुन्छ, आउनुहोस्। २२ गतेको दिनमा सामूहिक गिरफ्तारी दिने।’

उनले अगाडि थपे,‘आन्दोलनमा हामी ज्यानको माया मारेर अघि बढ्नेछौं,’ गुरुङले भने, ‘हाम्रो आन्दोलन भद्रअवज्ञा हुन्छ।’

त्यस दिनको आन्दोलनमा अहिले फरार रहेका व्यावसायी दुर्गा प्रसाईं आउलान् या नआउलान् भन्ने यकिन भएको छैन। उनी चैत १५ गतेदेखि फरार थिए भने केही दिनपछि भिडिओमा प्रकट भए। आक्रामक भाषण दिएका उनले विभिन्न मिडिया हाउसलाई चेतावनी समेत दिएको भिडिओमा देख्न सकिन्थ्यो। 
भागेर भारत पुगेको बताइएका उनले नेपालमा रहेको नै दाबी गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति

६ बजे मन्त्रिपरिषद् बैठक बस्दै