नेभिगेशन
राजनीति

निर्मल निवासको मौनताले खडा गरेको प्रश्न

काठमाडौं– फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर ज्ञानेन्द्र शाहले दिएको लिखित र भिडिओ सन्देशपछि राजावादी आन्दोलनले एउटा नयाँ मोड लियो। 

फागुन २५ गते पोखराबाट काठमाडौं आउँदा शाहको स्वागतमा देखिएको जनसागरले निर्मल निवास हौसियो। अनि, त्यहि छेको पारेर विवादमा आएका व्यावसायी दुर्गा प्रसाईंलगायत निर्मल निवासमा पुगेका थिए। लगत्तै चैत १५ गते राजावादी आन्दोलन भयो। 

सो क्रममा भएको हिंसात्मक गतिविधिका कारण भएको क्षतीले निर्मल निवासको मौनता नतोडिँदा विविध प्रकारका प्रश्न खडा भएका थिए।

राजावादी आन्दोलनबारे शाह बोलेका छैनन्। यसमा भएको क्षतिका सन्दर्भमा पनि उनको मौनता छ। विभिन्न दलका नेताहरूले शाहलाई बोल्नका लागि चुनौति दिइरहेका छन्। तर, उनको मौनताले भनिरहेको छ– आन्दोलनमा स्वीकृति छ। अन्यथा अन्य विषयमा नबोले पनि मानवीय र भौतिक क्षतिका विषयमा निर्मल निवास बोल्ने थियो। 

उच्च स्रोतका अनुसार अहिले निर्मल निवास बोल्न आवश्यक छैन। किनभने आन्दोलन गर्नका लागि शाहले निर्देशन पनि दिएका होइनन् भने कुनै समितिको आधिकारिक घोषणा पनि गरेका होइनन्। ‘राप्रपाले पनि सभा गरेको थियो। त्यो पनि निर्मल निवासले गर्नू भनेर भनेको हैन, अनि किन बोल्नु?’

तर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधनका क्रममा चैत १८ गते भने,‘घटनाको जिम्मा ज्ञानेन्द्र शाहले लिनुपर्छ। यसको जिम्मेवारी लिनुको कारण भनेको उनको योजनामा नै हिंसात्मक गतिविधि भएको थियो। त्यसैले कानुन र व्यवस्थाभन्दा उनी माथि छैनन्, छुट हुनेवाला छैन।’

ओलीको यो भनाईसँगै एमालेका कतिपय नेता अन्यभन्दा उग्र बनेर बयानबाजी दिन थालेका छन्। महासचिव शंकर पोखरेलले यसै मेसोमा दरबार हत्या काण्डमा शाहको दाजुका परिवार सबैको हत्या हुँदा उनका परिवार मात्र किन बाँचे भन्ने प्रकारका गैर जिम्मेवार प्रश्न पनि गरेका छन्।

निर्मल निवास निकट स्रोतले भन्यो,‘यीनको नैतिकताहिन प्रश्नको कुनै उत्तर छैन। छानबिन समिति बनाएर प्रतिवेदनले के भनेको थियो? अहिलेसम्म किन पुनः छानबिन नगरिएको छ? यो सबै दोष लगाएर जनतामा भ्रम छर्ने विषयभन्दा केही होइन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति