नेभिगेशन
समाज विविध

तीनकुने घटनाको छानबिन गर्न नागरिक आयोग गठन

काठमाडौँ– संयुक्त जनआन्दोलन परिचालन समितिले चैत १५ गते तीनकुनेमा राजसंस्था पुनःस्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्काएर भए/गरिएका गम्भीर मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नागरिक छानबिन आयोग गठन गरेको छ।

‘उक्त घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग र सरकारले समेत छानबिन नगरी विश्वसामु नेपालको छवि धुमिल बनाएकाले राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ट व्यक्तित्व र संघसंस्थाको तर्फबाट अनुसन्धान गरिदिन प्रस्ताव गरिएकोमा स्वीकार गरी’ वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा नागरिक छानबिन आयोग गठन गरिएको समितिले जानकारी गराएको हो।

नागरिक समाजका विशिष्ठ व्यक्ति तथा संघसंस्थाहरुको सामूहिक प्रस्तावमा पारित नागरिक छानबिन आयोगका सदस्यमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधि डा ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेका छन्।

उक्त आयोग गठनको प्रस्तावका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङ, ३६ वटा संघसंस्थाको छाता संस्था राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्ट, पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेत, किशोरी महतो प्रा.डा. रत्नकमल वैद्य, आध्यात्मिक नेतृत्व आरबी बस्नेत, मानवअधिकार म्याग्ग्रामिट २०११ का संयोजक सुरेश आचार्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्वप्रशासक हरिबहादुर बस्नेत, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेशबहादुर सिंह, ध्रुव खतिवडा यादवराज पाण्डेय, निराकार रेग्मी, दीपक महाराज आत्रेय नेवाः एकता तथा नागरिक समाजका रञ्जिता श्रेष्ठ गरी ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तित्वहरुको तर्फबाट हस्ताक्षर भएकोमा काठमाडौँमा बुधबार सम्पन्न एक भेलाले उक्त समिति गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविविरुद्धको पेसी स्थगित