नेभिगेशन
राजनीति

ओलीलाई गगनले भने- सरकारले काम गरेको भए शिक्षकहरू सडकमा आउन पर्दैनथ्यो, भाषण गर्न छाड्नुस्

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् ।

रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘हामीले सरकारलाई सहयोग गरिरहेका छौँ, तर हामीले असन्तुष्टि व्यक्त गरिरहेका छौँ । किनभने बिँड तातेर मात्रै हुँदैन रहेछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको सरकारको नेतृत्व गरेको प्रधानमन्त्री हो । म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु, झकझकाइरहेको छु । मद्दत पुर्‍याइरहेको छु, तर परिणाम दिने कुरामा जिम्मेवार बोध सरकार प्रमुखसँग हुनुपर्छ । अहिले शिक्षक साथीहरू सडकमा हुनुहुन्छ । सरकारले ठिक समयमा ठिक ढंगले काम गरेको भए अहिले सडकमा आउनुपर्ने अवस्था नै बन्दैनथ्यो । अहिले पनि केही बिग्रिएको छैन । शिक्षकहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ ।’

महामन्त्री थापाले सहकारीको विषय आफूहरूले उठाएको भन्दै ठगहरूलाई पनि ठेगान लगाउनुपर्ने र पीडितहरूको बचत फिर्ता गराउनुपर्ने भने पनि अहिलेसम्म दिन नसकेको स्वीकारेका छन् ।

उनले थपे, ‘अहिलेको सरकारको गति पुगेको छैन । हामी भन्छौँ, तिमी युद्धको मनोविज्ञानले १८ घण्टा काम गर, २० घण्टा काम गर कहीँ उद्घाटन र भाषण गर्न नजाऊ, प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मैले उहाँहरूलाई अनुरोध गरिरहेको छु, तपाईँहरू डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, तपाईँहरू काम गर्नुस्, तपाईँहरूले गरेको कामको प्रचार हामी देशभरि गर्छौँ ।’

महामन्त्री थापाले काँग्रेस अहिले जिम्मेवारीमा भए पनि केही समस्याहरू देखिएकाले सुधार गरेर अघि बढ्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति