नेभिगेशन
पुँजी बजार

प्रतीकात्मक ‘ट्यारिफ’ ९० दिनका लागि रोक्ने ट्रम्पको घोषणापछि एशियाका सेयर बजारमा उछाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश प्रतीकात्मक ‘ट्यारिफ’ ९० दिनका लागि रोक्ने घोषणा गरेसँगै एशियाका सेयर बजारमा उछाल आएको छ।

ट्रम्पको घोषणापछि बिहीबार जापानको निक्केई २२५ सूचक ८.६ प्रतिशतले उकालो लागेको छ। एक विश्लेषकका अनुसार यस क्षेत्रका लगानीकर्ताले अहिले ठूलो राहतको सास फेरेका छन्।

दक्षिण कोरियाको कोस्पी सूचक र अस्ट्रेलियाको एएसएक्स २०० सूचक करिब ५ प्रतिशतले माथि उक्लिएका छन्। ताइवानको मुख्य ताइएक्स सूचक बिहानी कारोबारमा ९.३ प्रतिशतले उकालो लागेको छ।

उता, अमेरिकाको वाल स्ट्रिट बजारमा समेत ट्रम्पको घोषणाले सकारात्मक प्रभाव पारेको छ। आर्थिक अस्थिरता र बजारमा लगातारको गिरावटपछि आएको यो राहतले लगानीकर्तामा आशा बढाएको छ।

मुख्यभूमि चीन र हङकङका सेयर बजारमा पनि सकारात्मक माहोल छाएको छ। शाङ्घाई कम्पोजिट सूचक बिहानको कारोबारमा १.३ प्रतिशतले बढ्यो भने हाङसेङ सूचक ३ प्रतिशतले उकालो लागेको छ।

यद्यपि, चीन र अमेरिका बीचको कर युद्ध भने रोकिएको छैन। चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने तयारी गरिरहेको छ। यो नयाँ कर बिहीबार राति १२:०१ बजे लागू हुने जनाइएको छ।

चीनको यो घोषणापछि ट्रम्पले चीनमाथिको कर अझै बढाएका छन्। उनले चीनमाथि १२५ प्रतिशतको नयाँ कर लादेका हुन्।

अन्य अधिकांश देशका लागि भने १० प्रतिशतको आधार दरको कर कायम रहने बताइएको छ।

यसैबीच, दक्षिण कोरियाका व्यापारमन्त्री चेङ इन-क्योले कर स्थगितलाई सकारात्मक संकेत भनेका छन्। उनले यसले अमेरिका र कोरियाबीच वार्ताका लागि केही समय दिएको बताए। वाशिङ्टनसँग तत्काल वार्ता आवश्यक रहेको उनको भनाइ छ।

चेङ यसै हप्ता अमेरिका गएका थिए। उनले अमेरिकाको व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग २५ प्रतिशतको भन्सार दरबारे वार्ता गरेका थिए।

त्यसैगरी, अमेरिका र भियतनामबीच व्यापार सम्झौताका लागि वार्ता सुरु गर्ने सहमति भएको छ। भियतनामी सरकारका अनुसार भियतनामले अमेरिकी लगानीलाई सजिलो बनाउने र व्यापारीक अनियमितता नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ।

यो घोषणा ट्रम्पले भियतनाममाथिको ४६ प्रतिशतको कर स्थगित गरेपछि आएको हो। भियतनामका लागि यो ठूलो राहत हो। अमेरिकी बजारमा भियतनामी निर्यातले कुल जीडीपीको ३० प्रतिशत हिस्सा ओगट्ने गर्छ।

ट्रम्प र उनको टिमले यसअघि निरन्तर रुपमा प्रतीकात्मक कर आवश्यक भएको अड्डी लिएका थिए। मंगलबार ट्रम्पले ९० दिनका लागि कर रोक्ने सोच बनाइरहेको भन्ने रिपोर्ट सार्वजनिक भएको थियो।

उक्त रिपोर्टलाई ह्वाइट हाउसले तत्काल अस्वीकार गरेको थियो। तर, त्यो रिपोर्ट सार्वजनिक भएलगत्तै सेयर बजार उकालो लागेको थियो। त्यसपछि, ह्वाइट हाउसले सुरुमा उच्च भन्सार लगाउने र पछि वार्ता गर्ने आफूहरूको योजना नै रहेको बतायो।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले कर स्थगित गर्ने घोषणा भएको केही समयमै भने, ‘हामीलाई ७५ भन्दा धेरै देशले सम्पर्क गरेका छन्। अब यो संख्या अझ बढ्नेछ।’

तर यो कदम अचानक आएको बजार प्यानिक, ऋणपत्र बजारमा गिरावट र जनस्तरमा बढ्दो असन्तुष्टिका बीच आएको अधिकांश विश्लेषकको बुझाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय