नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओली–भाजपा नेता तथा मन्त्री चौहान भेटको राजनीतिक अर्थ

काठमाडौं– राजधानीमा राजावादी आन्दोलनको निरन्तर प्रदर्शन र घोषणा जारी रहेका बेला भारतीय केन्द्रीय मन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिएको बताइन्छ। ।

उनले हालै थाइल्याण्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरेको बताइएको छ।

तर यो भेटलाई त्यति अर्थमा मात्र राख्न नहुने कतिपयको बुझाई छ।

नेपालमा राजावादी आन्दोलन चलिरहेका बेला भाजपाका पूर्वउपाध्यक्ष समेत रहेका चौहानले प्रधानमन्त्री ओलीसँग गरेको भेट शिष्टाचार मात्र नभएर राजनीतिक र कुटनीतिक अर्थमा पनि हेरिएको छ।

बिम्स्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको ४५ मिनेटको साइडलाइन वार्ताको बिस्तृत प्रारुपमा पनि चौहानको भेटलाई बुझ्न आवश्यक रहेको छ। किनकी उनी मोदीका विश्वास पात्र मात्र नभएर मध्य प्रदेशको लामो कार्यकालको मुख्यमन्त्रीको जिम्मेवारी सकिनासाथ क्याबिनेटमा समेटिएका मन्त्री पनि हुन्।

भाजपाको राष्ट्रिय स्वयम् सेवक संघको जिम्मेवारी समेत सम्हालेका चौहान हिन्दूवादी नेताका रुपमा परिचित पनि छन्। यद्यपि प्रधानमन्त्री ओलीबाहेक उनले अन्य पक्षसँग भेट गरेका विषय सतहमा आइसकेका छैनन्। 

उच्च स्रोतले भन्यो,‘भारतले राजावादी आन्दोलन या फरक प्रसङ्गको भेटका रुपमा बुझ्न अलिक नमिल्दो प्रकारको छ। तर, सामयिक विषयमा कुराकानी हुने विषय नयाँ होइन।’

तर प्रधानमन्त्री कार्यालय या ओलीनिकट स्रोतले भने राजनीतिक र कुटनीतिक विषयमा दुवैबीच कुराकानी भएको भन्ने सन्दर्भको संकेत समेत गरेको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति