नेभिगेशन
राजनीति
टिका टिप्पणी

विद्या प्रधानमन्त्री, ओली राष्ट्रपतिः राजनीतिमा अनेक अड्कलबाजी

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा उपाध्यक्ष बनाउँदै सक्रिय राजनीतिमा तानेपछि प्रकारान्तरका अड्कलबाजी र सम्भावनाबारे टिका टिप्पणी सुरु भएका छन्।

खासगरी पासाङ सक्रिय बनाउँदा यसको प्रत्यक्ष र परोक्ष प्रभावको विषय नेकपा एमालेभित्र चर्चाको कसीमा रहेको छ। पासाङ सक्रिय रहँदा एमालेमा प्रभावकारी बन्न खोजेकी पूर्वउपाध्यक्ष समेत रही दुई कार्यकाल राष्ट्रपति बनेकी विद्या भण्डारीको चर्चा कम छैन।

उनी सक्रिय राजनीतिमा प्रभावशाली बनेर एमालेमा उदाउने अनुमान गरिन्छ। यति मात्र होइन त्यसको एक कदम अगाडि बढ्न सक्ने अड्कलबाजी पनि हुन थालेका छन्।

आगामी निर्वाचनमा एमाले सत्ता समीकरणमा आउँदा राष्ट्रपतिमा हालका अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्नेगरी विद्यादेवी भण्डारीलाई सक्रिय बनाउन खोजिएको अड्कलबाजी पनि चलेका हुन्। यसको स्वतन्त्र पुष्टिचाहिँ हुन सकेको छैन। न एमाले पंक्तिले यस्तो समीकरणबारे भनक दिएको छ न ओलीले छनक दिएका छन्।

एमालेभित्र ओली सर्वकालिन अध्यक्ष बन्ने लयमा रहेका बेला उनीसँग असन्तुष्ट नेताको पंक्ति भने भण्डारीको दैलोमा पुगिरहेको थियो। यसले भण्डारीको सक्रिय राजनीतिमा आउने चाहना रहेको भन्ने विषयलाई लुकाउन र छिपाउन सकिएको थिएन।

भण्डारी निकट स्रोतले भन्यो,‘राजनीतिमा जे पनि सम्भावना हुने चिज हो। त्यसैले यसलाई सम्भावनाको खेल भनिएको हो। परिस्थिति अड्कल काटे जस्तो नहोला भन्न सकिन्न।’

त्यसो यो तर्कमा बल पुग्ने ठाउँ कहाँ छ भने भण्डारीले ओलीलाई हालसम्मकै उत्कृष्ट नेता बताउँदै आएकी छन्। यसको संकेत ओलीसँग समानान्तर दूरी बनाउने भन्दा पनि फकाएर एमालेको उत्तराधिकारीका रुपमा आफू स्थापित हुनेगरीको ‘कुटनीतिक’ भाषा प्रयोग गरेको हुन सक्ने पनि टिप्पणी हुन्छन्।

एमालेमा उदय भएपछि ओलीले भण्डारीलाई दुई पटक राष्ट्रपतिमा निर्वाचित गरेका थिए। ‘त्यो गुणको बदला गुण तिर्नका लागि पनि सम्भावनालाई नकार्न सकिन्न’, उच्च स्रोतले भन्यो,‘ओली चार पटक प्रधानमन्त्री बनिसक्नुभएको छ। जीवनको उत्तरार्धमा राष्ट्रपति बन्ने योग्य पात्र पनि हो।’

कतिपयले भने नेपाली कांग्रेसको राजनीतिमा सभापतिको निर्वाचन जित्न नसकेका रामचन्द्र पौडेल पनि परिस्थितिअनुसार राष्ट्र प्रमुख बनेको उदाहरण बिर्सन नहुने तर्क गर्छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति