नेभिगेशन
पूर्वाधार

दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध : हजारौं यात्रु अलपत्र

नवलपरासी - दाउन्नेको सडकमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा १६ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध छ ।

‘राजमार्ग खुलाउने प्रयास जारी छ,’ उनले भने, ‘हिलोमा फसेका गाडी चिप्लिएका कारण राजमार्ग अवरुद्ध भएको हो । म यहीँ छु । हिलोमा फसेका कारण गाडि निकाल्नै सकिएन ।’ राजमार्गमा ग्राभेल र बालुवा हाल्दै गाडि हिँडाउने प्रयत्न जारी रहेको उनले सुनाए ।

बिहीबार दाउन्ने क्षेत्रमा परेको सामान्य वर्षाले राजमार्ग हिलाम्य भएको छ । राजमार्ग निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (चिनियाँ ठेकेदार कम्पनी) ले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने राजमार्गको १४ किलोमिटर खण्डमा समस्या भएको हो ।

राजमार्ग बिस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल पनि नगरेका कारण धुलोले हैरान छ । दुम्कीबास बर्दघाट खण्डमा पर्ने १४ किलोमिटर पहाडी सडक खण्डमा ३ फिट माथिसम्म धुलैधुलो छ । बिहीबार परेको सामान्य वर्षाले त्यो धुलो हिलोमा परिणत भएपछि गाडी चिप्लिएर राजमार्ग खुलाउन नसकिएको हो । जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्ग मर्मत गर्न ठेकेदारसँग कुरा भएको र राजमार्ग खुलाउन दाउन्नेमै ३ दर्जन प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार