नेभिगेशन
राजनीति

एउटा पञ्चतन्त्र, अर्को प्रचण्डतन्त्र

जनयुद्धका नाममा सत्तासम्म पुग्ने शक्ति आर्जन गरेपछि प्रचण्डले भारततिर अलप भएका छोरीहरूदेखि बेनाम रहेका आफन्तलाई माओवादीको केन्द्रीय समिति हुँदै सत्ताको बागडोरसम्म तानेर ल्याए अनि अहिले भनिरहेका छन्– शहीद बेपत्ता परिवारको दैलोमा छु!

काठमाडौं– धर्मको अर्थ न्याय हुन्छ भन्ने महाभारतमा श्रीकृष्णले गीतामार्फत ज्ञान दिएका छन्। यसैकारण अन्यायविरुद्ध न्यायका लागि गरिएको कुरुक्षेत्रको युद्धलाई धर्मयुद्ध भनिएको थियो। 

यस्तै धार्मिक ग्रन्थमा एउटा पञ्चतन्त्र हुन्छ। 

पञ्चतन्त्र एक प्राचीन संस्कृत ग्रन्थ हो, जुन जनावरहरूको कथामार्फत नैतिक शिक्षा, व्यवहारिक ज्ञान, र जीवनका सूक्ष्म नीति–तत्त्व सिकाउने उद्देश्यले तयार गरिएको हो। 

यो ग्रन्थ विशेषतः बालबालिकाहरू र शासक वर्गलाई नीति, बुद्धिमत्ता, र व्यवहारिक ज्ञान सिकाउन लेखिएको थियो।

मित्रभेद अर्थात्  मित्रता कसरी टुट्छ भन्ने विषय, मित्रलाभ अर्थात् सच्चा मित्रता कसरी प्राप्त हुन्छ? काकोलूकीयम् अर्थात् योजना, छलकपट र बुद्धिको प्रयोग, लब्धप्रणाश अर्थात् प्राप्त चीज कसरी गुमिन्छ र अपरीक्षितकारक अर्थात् नचिनेका कुराको परिणामका बारेमा पञ्चतन्त्रले ज्ञान दिन्छ। 

यी सबै कथाहरूले व्यवहारिक जीवनमा उपयोगी हुने नीति र बुद्धिमत्ता सिकाउँछन्, र आज पनि शिक्षा, साहित्य र जीवन मूल्यको दृष्टिले उत्तिकै सान्दर्भिक छन्।

तर असान्दर्भिकचाहिँ नेपाली राजनीतिमा उदाएको प्रचण्डतन्त्र रहेको टिप्पणी सर्वथा छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन भएपछि भनेका थिए,‘छोरी ज्वाँईदेखि आफन्तलाई भाईलाई भागवन्डा दिने, सत्तामा ल्याउने लोकतन्त्र हो?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलक्षित प्रश्नसँगै उनले अहिले पनि भनिरहेका हुन्छन्,‘मेरो भाई गाउँमा हलो किसान गरिरहेको हुन्छ। तर, उसलाई कुनै लाभको पद म दिन्न, उसले जति गर्न सक्छ आफैंले गर्ने हो।’

प्रचण्ड अहिले विभिन्न अभियानमा दौडाहामा छन्। तर, ओलीले भनेजस्तो उनले राजनीतिलाई कहिँ न कहिँ लाभका लागि प्रयोग गरेका अनेक उदाहरण दृष्टान्त छन्।

जनयुद्धका नाममा सत्तासम्म पुग्ने शक्ति आर्जन गरेपछि प्रचण्डले भारततिर अलप भएका छोरीहरूदेखि बेनाम रहेका आफन्तलाई माओवादीको केन्द्रीय समिति हुँदै सत्ताको बागडोरसम्म तानेर ल्याए अनि अहिले भनिरहेका छन्– शहीद बेपत्ता परिवारको दैलोमा छु!

प्रचण्डले पार्टीभित्र परिवारवाद हावी गराए। छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्षदेखि राष्ट्रिय सभाको अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले ‘कीर्तिमान’ नै खडा गरेपछि त्यो आरोप प्रचण्डतिर सरेको थियो। उनी यसभन्दा पनि माथि उठेर सांसददेखि मन्त्री बनाउनेसम्म पनि उक्लिए।

यो विषय माओवादीको केन्द्रीय समितिको बैठकमा ओम शर्मा, जनार्दन शर्माले उठाएका थिए। तर, उनीहरुको आवाज दबाउन प्रचण्ड सफल भए। 

त्यसो त प्रचण्ड पारिवारवादको चङ्गुलमा फसेको नवीन र ताजा घटना होइन । २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै उनले प्रचण्डतन्त्रको सूत्रपात गरेका थिए।

दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन्। नाताले आफ्नै भतिजा पर्ने समीर दाहाललाई उनले पीए नियुक्त गरेका थिए। 

०७५ मा आइपुग्दा अध्यक्ष प्रचण्ड परिवारवादको चङ्गुलमा नराम्ररी फसेको प्रतीत भयो। यसपटक छोरी–ज्वाइँ, बुहारी, सम्धी, भतिजो गरी झन्डै १० जनालाई उनले सरकारी नियुक्ति दिलाएका थिए। 

०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणना सम्झन लायक रह्यो।

त्यसपछि ०७९ मा पनि त्यसको निरन्तरता भयो। कांग्रेस–माओवादी केन्द्रकी साझा उमेदवार प्रचण्डपुत्री रेणु दाहाललाई मेयर पदमा जिताउन मतपत्र च्यात्ने र चुनाव गराउनेसम्म प्रपञ्च रचियो।

पछि ०७९ मा शेरबहादुर देउवासहितका बाहलवाला प्रधानमन्त्री नै लगेर रेणुका लागि मेयरको मत मागियो। 

प्रचण्डले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिए भने ज्वाइँ जीवन आचार्यलाई मोरङ–६ को (क) प्रदेशको टिकट थमाए। यसपटक बुहारी पराजित भइन् र ज्वाँईले जित निकाले।

पद र जिम्मेवारी आफ्ना नाता–गोतालाई सुम्पने प्रचण्डको कदम यतिमै सकिँदैन। जेठी छोरी ज्ञानु दाहाल केसी (ज्ञानुको क्यान्सर रोगका कारण २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो) का पति सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराएका थिए।

पछि अग्नी सापकोटा सभामुख हुँदा पनि त्यहि जिम्मेवारीमा राखे। 

कान्छी छोरी गंगा दाहाल पनि राज्यकोषको सेवा सुविधाबाट पर छैनन्। गंगालाई प्रचण्डले सचिवालयमा राखेका छन्। अहिले प्रचण्डका हरेक अभियानमा गंगा वरिपरि देखिन्छिन् भने सत्तामा हुँदा उनकै डाडु पून्यू चल्छ।

प्रचण्डलाई काका साइनो लगाउने महेश दाहाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूत नै बनाएका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति